Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, २ साउन २०७७ । कोरोना महामारी नियन्त्रण र रोकथामका लागि ‘लकडाउन’ सुरु भएसँगै रोकिएको परीक्षा सञ्चालनमा नीतिगत बाटो खुलेपछि विश्वविद्यालयहरु परीक्षा सञ्चालन गर्ने सम्बन्धमा अन्तिम तयारीमा जुटेका छन् ।

कक्षा–१२ को वार्षिक परीक्षा पनि कहिले हुने हो, तय भएको छैन । विश्वविद्यालयको परीक्षा र पठन–पाठनको विषयमा शिक्षा मन्त्रालयले विश्वविद्यालय अनुदान आयोगलाई जिम्मा दिएको थियो ।

आयोगले महामारीको बेला शैक्षिक गतिविधिलाई निरन्तरता दिन उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण निर्देशिका–२०७७ जारी गर्‍यो । जसअनुसार विश्वविद्यालयहरुले आफूअनुकूलको प्रणालीमार्फत् परीक्षा लिन सक्नेछन् ।

माध्यामिक शिक्षा परीक्षा (एसईई)तथा कक्षा–११ को परीक्षा आन्तरिक मूल्यांकनको आधारमा विद्यालयले नै गरिने व्यवस्था भएपनि कक्षा–१२ तथा विश्वविद्यालयको परीक्षा कसरी अघि बढ्छ भनेर अहिलेसम्म निश्चित भइसकेको छैन ।

राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीहरु विद्यालय तहबाट विश्वविद्यालयमा प्रवेश गर्ने भएकाले कक्षा–१२ को परीक्षा राष्ट्रियस्तरमा लिनुपर्ने जनाएको छ ।

विद्यार्थी संगठनहरुले कक्षा–१२ र विश्वविद्यालय तहमा रोकिएको परीक्षा अविलम्ब लिन माग गरेका छन् ।

शैक्षिक वर्ष खेर जान नदिन अन्तर्राष्ट्रिय अभ्यास हेरेर तथा अन्य व्यवस्था गरेर परीक्षा सञ्चालन गर्न उनीहरुको माग छ ।

विद्यार्थीलाई भौतिकरुपमा उपस्थित गराउने तथा अन्य विकल्प अपनाएर परीक्षा सञ्चालन गर्ने सम्बन्धमा त्रिभुवन विश्वविद्यालयले आइतबारसम्म आवश्यक निर्णय हुने जनाएको छ ।

जारी लकडाउन साउन ७ गतेसम्म पूर्णरुपमा हटेमा र अवस्था सामान्य रहेमा रोकिएको सम्पूर्ण परीक्षा असोज महिनाभित्र गरिसक्ने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।इमेज

तपाईको प्रतिक्रिया