Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

तुलसीप्रसाद निरौला
विर्तामोड , २५ असार २०७७ । सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघ–संस्थाको सहभागितामा शुरु गरिएको एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट झापाको कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना हुन लागेको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशालाका लागि विर्तामोडका तीन वटा सहकारीले रकम प्रदान गरेका छन् ।

झापामा कोरोना संक्रमितको संख्या बढीरहेको अवस्थामा ‘एकका लागि एक’ अभियानको अगुवाईमा जनस्तरवाट झापाको कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशालाका स्थापनाका लागी झापा जिल्ला सहकारी संघले सहकारी अभियान मार्फत २५ लाख सहयोग गर्ने घोषणा गरेको थियो ।
झापाको विर्तामोडमा विहीबार आयोजित कार्यक्रममा झापा जिल्ला सहकारी संघ मार्फत विर्तामोडका तीन वटा सहकारीले एकका लागि एक अभियानलाई रकम प्रदान गरेका हुन् ।

झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा भएको कार्यक्रममा हाम्रो नेपाल वचत तथा ऋण सहकारी संस्था बिर्तामोड –४ ले एक लाख एक हजार, पब्लिक वचत तथा ऋण सहकारी संस्था बिर्तामोडले एक लाख एक हजार र सिम्रिक वचत तथा ऋण सहकारी संस्था बिर्तामोड –४ ले एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा हाम्रो नेपाल साकोसको तर्फबाट अध्यक्ष भवानीप्रसाद दंगाल, सचिव वीपी लामिछाने ,सदस्य राजेन्द्र गौतम , लेखा समिति संयोजक कृष्णराज कटुवाल , पब्लिक साकोसको तर्फबाट अध्यक्ष प्रमिला गौतम, सिम्रिक साकोसको तर्फबाट अध्यक्ष कमल बस्नेत र सचिव सुवास भट्टराई ,विभागिय प्रमुख विजय वस्नेत, मिनबहादुर अधिकारी लगायतले अभियानका सहसंयोजक विनोद बस्नेत , अभियानका साझेदार संस्थाका सदस्यहरु कुमार भट्टराई, वेदप्रकाश अग्रवाल , गोपाल ओली, ओमकृष्ण बिमली, हरि शर्मा, मिजास पोखरेल, सञ्जीव घिमिरे , राजेन्द्र चौलागाईं , वीरु दर्नाल लगायतलाई चेक हस्तान्तरण गरेका थिए ।

यसअघि वुधवार कर्णाली बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले एक लाख ११ हजार एक सय ११ रुपैयाँको चेक प्रदान गरेको संस्थाका अध्यक्ष टिएस प्रधानले बताए ।
कार्यक्रममा एकका लागि एक अभियानका सहसंयोजक विनोद बस्नेतले कार्यक्रमको औचित्य र अभियानको उद्देश्यमाथि प्रकाश पारेका थिए ।
उनले ‘एकका लागि एक’ अभियानमा हालसम्म देश तथा विदेशका ७० संघसंस्था र एक हजार एक सय व्यक्तिबाट सहयोग प्राप्त भएको बताउँदै पीसीआर परीक्षण प्रयोगशालाका लागि हालसम्म एक करोड रुपैयाँ जुटिसकेको जानकारी दिए ।

कार्यक्रममा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट झापाको कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना हुन लागेको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशालाका लागि सहकारी अभियान मार्फत सहयोग गरिएको वताए ।
उनले झापा जिल्ला सहकारी संघको अगुवाईमा हालसम्म पीसीआर परीक्षण प्रयोगशालाका लागि १७ लाख रुपैयाँ सहयोगको प्रतिवद्धता आएको र केही सहकारीले रकम समेत जम्मा गरिसकेको जानकारी दिए ।

कार्यक्रममा नेपाल वचत तथा ऋण सहकारी संघ नेफ्स्कुनका केन्द्रीय सदस्य घनश्याम अधिकारीले सरकार–समुदाय–सहकारीबीच साझेदारीको नमूनाको रुपमा कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशाला स्थापना हुने वताए । र्
कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनका लागि भौतिक संरचना तयार भइरहेको एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए ।

उनले कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशाला साउन १ गतेबाट सञ्चालनमा आउने तयारी गरिएको र त्यसका लागि पीसीआर परीक्षण मेसिन तथा प्रयोगशालाका लागि आवश्यक अन्य उपकरणका खरिद प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
झापा जिल्ला सहकारी संघका सहसचिव भवानी दंगालले स्वागत गरेको कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले गरेका थिए ।

 

तपाईको प्रतिक्रिया