Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

तुलसीप्रसाद निरौला
बिर्तामोड, १४ असार २०७७ । सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा सुरु गरिएको ‘एकका लागि एक’ अभियानको अगुवाईमा कोरोना भाइरसको संक्रमण परीक्षण गर्न नागरिकस्तरवाट झापामा स्थापना हुन लागेको पीसीआर परीक्षण प्रयोगशालाका लागी विर्तामोड –१ मा रहेको साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले ३१ हजार रुपैयाँ प्रदान गरेको छ ।

साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले १० औं स्थापना दिवसको अवसरमा आइतवार आयोजना गरेको कार्यक्रममा उक्त रकम प्रदान गरेको हो ।
साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष देवी निरौला वस्नेतको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका उपाध्यक्ष तथा ‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्रकुमार गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष रामलोचन न्यौपानेले स्वागत गरेका थिए ।

कार्यक्रममा साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष देवी निरौला वस्नेतले ‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्रकुमार गिरी, सह–संयोजक बिनोद बस्नेत , सदस्य रोटरी क्लव अफ विर्तामोडका प्रेसिडेन्ट इलेक्ट निर्मल कुमार भट्टराईलाई सो रकमको चेक हस्तान्तरण गरेकी थिइन् ।

झापामा कोरोना संक्रमितको संख्या बढीरहेकाले कोरोना भाइरसको संक्रमण परीक्षण गर्न ‘एकका लागि एक’ अभियानको अगुवाईमा नागरिकस्तरवाट झापामा स्थापना हुन लागेको पीसीआर परीक्षण प्रयोगशालाका लागी रकम प्रदान गरिएको संस्थाकी अध्यक्ष वस्नेतले वताइन् । उनले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरिएको वताउँदै आफूहरुको सहयोगले कोरोना संक्रमितको पीसीआर परीक्षणमा मद्यत पुग्ने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा ‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्रकुमार गिरीले साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले गरेको सहयोगको प्रसंशा गर्दै पीसीआर परीक्षण प्रयोगशालाका लागी हालसम्म ८५ लाखभन्दा बढी रकम जुटिसकेको बताए ।
उनले आगामी साउन १ गतेबाट कनकाईको कोटीहोमस्थित समर्पण भवनमा पीसीआर परीक्षण प्रयोगशाला सञ्चालन हुने गरी काम अगाडी बढाइएको जानकारी दिए ।

सरकारी मापदण्ड अनुसारको पीसीआर परीक्षण प्रयोगशाला स्थापना हुने बताउँदै उनले मेची अञ्चल अस्पतालको मातहतमा रहने गरी पीसीआर परीक्षण प्रयोगशालाका लागि अनुमति, व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भने प्रदेश सरकारले लिने सहमति भइसकेको बताए । सम्पूर्ण प्रक्रिया अगाडि बढाउँदै तत्काल आवश्यक काम पूरा गरी प्रदेश सरकारलाई पीसीआर परीक्षण प्रयोगशाला हस्तान्तरण गरिने बताउँदै उनले सरकारी मापदण्ड अनुसार पीसीआर परीक्षण प्रयोगशाला स्थापनाका लागि अन्नपूर्ण न्यूरो हस्पिटल अन्नपूर्ण रिसर्च सेन्टरबाट डा.दिनेश थापा तथा अनुसन्धान अधिकृत अनिलकुमार साह र विराज लोहनीको टिमले शुक्रवारबाटै काम थालेको जानकारी दिए ।

कार्यक्रममा ‘एकका लागि एक’ अभियानका सहसंयोजक बिनोद बस्नेत ,अभियानका सदस्य रोटरी क्लव अफ विर्तामोडका प्रेसिडेन्ट इलेक्ट निर्मलकुमार भट्टराई लगायतले ‘एकका लागि एक’ अभियान र पीसीआर परीक्षण प्रयोगशाला स्थापनाका बारेमा प्रस्ट्याएका थिए ।

कार्यक्रममा साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष खड्गप्रसाद ओडारी ,सुरुङ्गा सेवाकेन्द्रका प्रमुख राजेन्द्र उप्रेती लगायतले कोरोना भाइरस संक्रमितको पीसीआर परिक्षणका लागि ‘एकका लागि एक’ अभियानको अगुवाईमा झापामा नागरिकस्तरवाट पीसीआर परीक्षण प्रयोगशाला स्थापना गर्नु झापावासीका लागी गौरवको विषय भएको बताएका थिए ।
कार्यक्रमको सञ्चालन साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख चन्द्रकुमार भट्टराईले गरेका थिए ।

तपाईको प्रतिक्रिया