Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

गौरादह, १४ असार २०७७ । गौरादह नगरपालिका वडा नं८ स्थित बैराती बाँध पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। गौरादह नगरपालिकाको आ.ब.०७६/०७७ को विनियोजित बजेटबाट १० लाख रुपैयाँ बिनियोजित भएपछि पुल निर्माण भएको हो।

उपभोक्ता समिति गठन गरि निर्माण गरिएको पुल ११ मिटर लम्बाइ र ६ मिटर चौडाइको रहेको छ।लेहरा खोलामा निर्माणाधीन रहेको पुलको शनिबार ढलान कार्य सम्पन्न भएको ठेकेदार नेनुलाल ताजपुरियाले बताए। गौरादह नगरपालिकाको ग्वालडुब्बा हुँदै बैराती भएर गौरीगंज गाउँपालिकाको ठेकिटोला कोरोवारी जोड्ने सडकको सो स्थानमा पुल नहुदा आवतजावतमा समस्या भएको थियो।

लेहेरा खोलाको बैरातीमा बाँध निर्माण गरिदा बनाइएको सानो पुलबाट दुई चक्के सवारीसाधन र पैदल यात्रीहरुमात्र आवतजावत गर्दैथिए। बाँध निर्माण गर्दा बनाइएको सानो पुलबाट चार चक्के तथा ठुला सवारीसाधनलाई आवतजावतमा समस्या भएको थियो। बैरातीमा पुल निर्माण कार्य सम्पन्न भएपछि दक्षिणी क्षेत्रका बासिन्दा प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन्।

गौरादह नगरपालिका वडा नं.८ को मरियाडाँगीका, गौरीगंज गाउँपालिका भित्रका ठेकिटोला, कोरोवारीका साथै स्कुल तथा क्याम्पस जाने विद्यार्थी र व्यापारीहरु लाभान्वित हुने सडक निर्माण उपभोक्ता समिति अध्यक्ष खड्ग नारायण ताजपुरियाले जानकारी गराए। गौरादह नगरपालिकाको बिनियोजित बजेटबाट बैरातीमा निर्माण गरिएको लेहरा खोलाको पुल स्टमेट अनुसार निर्माण भएको नगरपालिकाका ईन्जिनियर गोपाल भण्डारीले जानकारी गराए।

तपाईको प्रतिक्रिया