Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

झापा, १ असार २०७७ । झापाबाट संयुक्त राज्य अमेरिका पुगेका ७२ जना नेपालीहरुले झापामा २ वटा एम्बुलेन्स सहयोग गरेका छन् । अमेरिकामा सक्रिय सामाजिक झापालीहरुको संस्था “झापाली समाज, युएसए” को संयोजनमा झापामा दुई वटा एम्वुलेन्स प्रदान गरेको हो ।

झापाको कचनकवल गाउँपालिका र झापा गाउँपालिकाको रेडक्रस, शरणामति उपशाखालाई उक्त एम्बुलेन्स हस्तान्तरण गरिएको झापाली समाज युएसएका महासचिव निलम विमलीले जानकारी दिएका छन् ।

झापाली समाज युएसएले साझेदारीमा सन्चालन गर्ने गरी दुई वटा एम्बुलेन्स खरिद गर्नका लागि दश लाख पचास हजार रुपैयाँ उपलब्ध गराएको थियो । एम्बुलेन्स किन्न लाग्ने आवश्यक पर्ने पचास प्रतिशत रकम गाउँपालिका र रेडक्रसले पाँच लाख पच्चिस हजारका दरले उपलब्ध गराएपछि साझेदारीमा दुई वटा एम्बुलेन्स संचालनमा आएका हुन् ।

एक औपचारिक कार्यक्रम गरी एम्बुलेन्स हस्तान्तरण गर्ने योजना बनाएको समाजले कोरोनाको कारणले गर्दा बिना कार्यक्रम नै एम्बुलेन्स हस्तान्तरण गरेको र एम्बुलेन्सवाट जिल्लावासीले सेवा लिन थालिसकेको जनाएको छ ।यसकार्यका लागि सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी मनहरुलाई झापाली समाजले धन्यबाद दिएको छ ।

कोरोना प्रकोपको यो विषम परिस्थितिमा झापाको दक्षिणी भेगमा यी एम्बुलेन्सले धेरै सहयोग पुगेको रेडक्रस शरणामती उपशाखाका अध्यक्ष केशव बजगाईले बताए । कचनकवल झापाको सवैभन्दा बढी कोरोना संक्रमित साथै पिछडिएको क्षेत्र पनि हो ।

झापामा स्थानीय निकाय र संघसंस्थाहरुले कोरोना प्रकोपको प्रभावका कारणले नेपालको पूर्वी नाकाबाट स्वदेश भित्रिने नेपालीहरुको संख्या अत्याधिक बढेको र कोरोनाको परीक्षणमा समस्या देखिएको कारणले अन्तर्राष्ट्रिय झापाली समाजले विर्तामोडमा कोरोना परिक्षणका लागि पीसीआर मेसिन उपलब्ध गराउन लागेको र यो कार्यमा झापाली समाज युएसएको उल्लेख योगदान हुने झापाली समाज युएसएका अध्यक्ष मुकुन्द ढुंगानाले बताएका छन् ।

एकका लागि एक अभियानको सहकार्यमा स्थापना हुन लागेको परिक्षण क्रेन्द्रका लागि अन्तराष्ट्रिय झापाली समाजले ल्याव किन्न आर्थिक सहयोग गर्ने निर्णय गरिसकेको छ । ल्याव खरिद गर्नका लागि आर्थिक सहयोग गर्न अझासले गो–फन्ड मार्फत शुरु गरि सकेको जानकारी दिदै ढुंगानाले सवै अमेरिकावासी नेपालीहरुसंग सहयोगको लागि अपिल गरेको छ ।

एम्बुलेन्समा सहयोग गर्ने दाताहरु ७२ जना हुनुहुन्छ । यसमा अधिक दाताहरु एक सय डलर प्रदान गर्नेहरु छन् भने ५ सय डलरदेखि ५० डलरसम्म आर्थिक सहयोग प्रदान गर्नेहरु छन् ।

तपाईको प्रतिक्रिया