Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

अनलाइनविचार संवाददाता
गौरादह, १७ जेठ । पाक्न लागेको चैते धानमा रोग लागेपछि किसानहरु चिन्तित भएका छन । गौरादह नगरपालिका भित्रका किसानहरुले आफुले खान र नगद आयआर्जन गर्ने उदेश्यले धान लगाए पनि धान पाकेर थन्काउने बेला भएपछि रोग र किराले आक्रमण गर्दा धान भुसमा परिणत भएको छ । ठुलो लगानी मेहनतका साथ दुख गरेर लगाएको धान पाकेर लगानी उठाउने समयमा धानको बाला लाग्ने बेलामा रोग देखिएपछि किसानहरु चिन्तित भएका छन् ।

झापाको गौरादह नगरपालिका भित्रका विभिन्न वडाका अधिकांश किसानहरुले लगाएको चैते धानमा गवारो र नेकब्लाष्ट रोगले धान सखाप पारेको छ। झापाको गौरादह नगरपालिका वडा नं. १, २,३, ४ र ५ का किसानहरुले लगाएको धानबालीमा गवारो र नेकब्लाष्ट रोग लागेको कृषि शाखा गौरादह प्रमुख सनिता राईले जानकारी गराइन। खेतमा धान पाकेर पहेंलो भएपनि बालामा चामल नभएर भुस मात्र देखेपछि किसानहरुले धानको बाला सहित कृषि शाखा गौरादहमा निवेदन दिएका छन् । पाकेको धान बिग्रीएपछि धानका बाला सहित निवेदन लिएर गौरादह नगर कृषि शाखामा दैनिकजसो किसानहरु धानको समस्या लिएर आइरहेको कृषि शाखा प्रमुख सनिता राईले जानकारी दिइन।

समस्या लिएर आएका किसानहरुको खेतमा निरिक्षण गर्दा गवारो र नेकब्लाष्ट रोग लागेको प्रमुख राईले बताइन। गवारो किराले धानको डाँठ खाने गर्दछ भने नेकब्लाष्ट रोग धानको बाला मुनी लाग्ने रोग हो जसलाई सेते लागेको पनि भन्ने गरेको राईले बताउनुभयो । नेकब्लाष्ट रोग लाग्दा धानको बालामा चामल पस्न नदिई धान भुसमा परिवर्तन हुने गरेको राईले बताइन।

गौरादह वडा नं.१ का किसान इमानसिंह तामाङ, सीता कार्कीका साथै चैतु चोकका सियाराम राजवंशी लगायत अन्य वडाका किसानहरुको पनि धान खेतमा धान पहेलपुर भएर पाकेको भएता पनि बालामा चामल नभएर भुस मात्र भएको किसानहरुले बताएका छन् ।
बाली थन्क्याउने समयमा धान पाक्न नपाउँदै धानका बाला सुकेपछि आफुहुरु मारमा परेको किसानहरुले गुनासो गरेका छन्।

किसानहरुले धानबाली बिग्रिएको जानकारी गराएपछि गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाह सहित कृषिज्ञान केन्द्र भद्रपुरका प्रमुख निलकमल सिंह, क्षेत्रीय कृषि अनुसन्धान परिषद तरहराका सन्तोष त्रिपाठी, क्षेत्रीय बाली संरक्षण प्रयोगशालाका मुकेशकुमार यादव, गौरादह कृषि क्याम्पस प्रमुख कृष्णहरि देवकोटा र गौरादह नगरपालिकाको कृषि शाखाकी प्रमुख सनिता राई लगायतको टोली रोग प्रकोप क्षेत्रमा गई स्थलगत अनुगमन तथा निरीक्षण गरेको थियो। वडा नं. १ भित्रमा करिव १०० हेक्टर जग्गामा लगाएको धान ३० प्रतिशत क्षति भएको राईले बताइन।

रोग निवारणका लागि कृषि ज्ञान केन्द्र भद्रपुरबाट ४० थान साइजोक्स बिषादी गौरादह कृषि शाखामा प्राप्त भएको बताउँदै यसबाट केहि किसानहरुलाई राहत मिल्ने राईले बताईन। बिशेष गरि यो विषादी पाकेर फलिसकेको धानको लागि भने उपयुक्त नहुने बताइएको छ । फल्दै गरेको हरियो धानका लागि भने यो विषादी उपयुक्त हुने बताइएको छ।

किसानहरु सो समस्या लिएर आउँदा उनिहरुको खेतमा निरिक्षण गरि सो विषादी स्प्रे का लागि गौरादह कृषि शाखाबाट उपलब्ध गराउन थालिएको कृषि शाखा प्रमुख सनिता राईले जानकारी गराइन।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया