Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, २ जेठ । कोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको छ ।

समितिको शुक्रबार बसेको बैठकले जेठ पाँच गतेपछि लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको हो ।

स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको छलफलपछि समितिले जोखिम क्षेत्र छुट्याएर लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले बताए ।

जारी लकडाउनको समीक्षा गर्दै समितिले उच्च जोखिममा रहेको क्षेत्र, मध्यम जोखिममा रहेका क्षेत्र र न्यून जोखिममा रहेका क्षेत्रको पहिचान गरी मोडालिटी परिवर्तन गर्ने तयारी गरेको उनले बताए ।

त्यसैगरी समितिले अध्ययन वा अन्य कामको शिलशिलामा जापान र हङकङमा बस्दै आएका तर लकडाउनका कारण नेपालमै रहेका नागरिकहरुलाई चार्टड फ्लाइट मार्फत पठाउने निर्णय पनि गररेको छ ।

सचिव विडारीले लकडाउनका कारण जापान जानबाट रोकिएका ६ सय र हङकङको आइडी प्राप्त नागरिकलाई स्वास्थ्य परीक्षण, अध्यागमन प्रकृया पुरा गरी पठाउने निर्णय भएको बताए । चार्टड फ्लाइटको खर्च कसले व्यहोर्ने भन्ने विषयमा उनले स्पष्ट खुलाएनन् ।

समितिले शुक्रबार स्वास्थ्यक्षेत्रका विभिन्न विज्ञहरुसँग छलफल पनि गरेको छ ।

अहिलेको अवस्था र लकडाउनको मोडालिटी परिवर्तन गरी कसरी जनजीवन सहज बनाउन सकिन्छ भन्ने विषयमा विज्ञहरुसँग छलफल भएको हो ।

छलफलमा विज्ञहरुले परीक्षण, कन्ट्रयाक्ट ट्रेसिङको दायरा बढाउनुपर्ने, क्वारेन्टाइनको व्यवस्थापन राम्रोसँग गर्नुपर्ने सुझाव दिएका छन् ।

आत्तिनुपर्ने अवस्थामा नभएपनि सचेत हुनुपर्ने, विदेशबाट आउनेहरुको सवालमा सम्बन्धित स्थानीय तहहरुमा क्वारेन्टाइनको उचित व्यवस्थान गरी ल्याउनुपर्ने सुझाव पनि दिइएको नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्कीले बताए ।

चिकित्सा क्षेत्रका विज्ञहरुले सरकारलाई वैज्ञानिक ढंगबाट निर्णय गर्न र सम्बन्धित क्षेत्रका व्यक्तिहरुसँग पनि सल्लाह गर्न सुझाव दिएका छन् ।

विज्ञहरुका सुझावहरुमा पुनः छलफल गरी समितिले निर्णय गर्नेछ ।

तपाईको प्रतिक्रिया