मोरङ, २५ वैशाख । कोसी अस्पतालका थप ८ जना शुक्रबार डिस्चार्ज हुने भएका छन् । विराटनगरस्थित कोसी अस्पतालको कोभिड-१९ उपचार केन्द्रको आइसोलेसनमा बस्दै आएका उदयपुरको भुल्केका थप ८ जना संक्रमित कोरोना भाइरसमुक्त भएसँगै उनीहरु डिस्चार्ज हुने भएका हुन् ।

उनीहरुको सोमबारदेखि लगातार तीन पटक गरेको स्वाब परीक्षण रिपोर्टमा बिहीबार नेगेटिभ देखिएको हो । उनीहरुलाई शुक्रबार डिस्चार्ज गर्ने प्रदेश सरकारले तयारी गरेको छ ।

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले भुल्केका १५ जनाको स्वाब परीक्षण गरिएको मध्ये ८ जनाको रिपोर्ट नेगेटिभ आएको बताए । उनले बाँकी ७ जनाको रिपोर्ट पोजिटिभ नै आएको सुनाए । नेगिटिभ रिपोर्ट आउनेमा १ भारतीय, विराटनगर १७ का २ र १ महिलासहित ५ जना भुल्केका छन् ।

उनीहरुमा वैशाख ८, ९ र १० गते संक्रमण पुष्टि भएपछि उपचार केन्द्रमा ल्याइएको थियो ।

कोशी अस्पतालका चिकित्सक डा। दीपक सिग्देलले उपचार केन्द्रमा आएदेखि हालसम्म कसैलाई पनि कुनै किसिमको उपचार नगरिएको बताए । ‘कोरोना भाइरसको संक्रमण देखिएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य छ,’ उनले भने, ‘उपचार केन्द्रमा बसेका ३१ जनामै कुनै किसिमको कोरोना भाइरसको लक्षण देखिएको छैन ।’

यसअघि प्रदेश १ मा सबभन्दा पहिले संक्रमण पुष्टि भएका १३ जनामध्ये ६ जना स्वस्थ्य भएर बुधबार डिस्चार्ज भएका छन् । उनीहरुलाई विराटनगरस्थित रानी मरकजमा क्वारेन्टाइनमा राखिएको छ ।

लगातार ३ पटकसम्म स्वाब परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आउनेको संख्या १३ पुगेको छ । रिपोर्ट पोजिटिभ आउनेहरुको ५ दिनपछि पूनः स्वाब परीक्षण गरिने सिग्देलको भनाइ छ ।

उदयपुरको भुल्केस्थित नुरी मस्जिदमा बसेका १२ भारतीय र ४ विराटनगरबासीमध्ये १ विराटनगरबासी सहित १२ जनामा बैसाख ५ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

त्यही दिन उनीहरुलाई विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा ल्याएर राखिएको थियो । त्यसपछि भुल्केका थप १६ जना गरी कूल २८ जना संक्रमित भई उपचार केन्द्रमा भर्ना गरिएको थियो । भोजपुरको हतुवागढीको १ र झापाको बाह्रदशी र दमकको २ जना गरी अहिले कूल २५ जना उपचार केन्द्रमा भर्ना छन् ।कान्तिपुर

तपाईको प्रतिक्रिया

Comments