Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौँ, १६ बैशाख २०७७ । रौतहटमा दुई जना व्यक्तिको काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

जिल्ला अस्पताल गौरका अधिकृत महेश साहका अनुसार दुई जना पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।

लकडाउनपछि चोर बाटो हुँदै नेपाल प्रवेश गरेका दुवैको स्वाबको नमूना परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो । त्यहाँ नतिजा नेगेटभ देखाइए पनि आशंका लागेर पुनः परीक्षणका लागि काठमाडौँ पठाउँदा उनीहरुको नतिजा पाजेटिभ देखाएको साहले जानकारी दिए ।

अस्पतालका अनुसार देवाही बोनाही नगरपालिका वडा–१ का ३५ वर्षीय पुरुष कोलकाताबाट लकडाउनपछि चोरबाटो हुँदै नेपाल आएका थिए । जनकपुरमा पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर जान दिइएको थियो । अहिले काठमाडौँमा गरिएको पीसीआर परीक्षणमा नतिजा पोजेटिभ आएपछि उनको सम्पर्कमा आएकाहरुको खोजी सुरु गरिएको छ ।
त्यस्तै, वृन्दाबन नगरपालिका वडा नम्बर–९ का २४ वर्षीय पुरुषमा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । उनी पनि लकडाउनपछि भारतबाट चोरबाटो हुँदै नेपाल प्रवेश गरेका थिए । उनलाई भने चन्द्रपुरस्थित क्वारेन्टाइनमा राखिएको थियो ।

तपाईको प्रतिक्रिया