Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झगेन्द्र खड्का
गौरादह, २३ चैत्र । गौरादह नगरपालिका वडा नं.२ भित्रका मुख्य चौकहरुमा हात धुने साबुन पानीको व्यवस्थापन गरिएको छैन। स्थानीय सरकारको प्रतिनिधित्व गरेको वडा नं.२ का जनप्रतिनिधिहरुले हाल सम्म पनि वडावासिहरु सितल छहारिमा बस्न र यात्रीहरु आराम गर्न बस्ने चौकहरुमा साबुन पानी राखेका छैनन्।

कोरोना भाइरसको संक्रमणको त्रास बढ्दै जाँदा त्यसबाट बच्न स्थानीय सरकारले नगरपालिका भित्रका मुख्य चौकहरुमा धार सहितको ड्रम र साबुन राख्न भनेपनि वडा नं.२ भित्रका मुख्य चौकमा राखिएको छैन। कोरोना भाइरसबाट विश्वभर आतंकित भइरहेको समयमा नेपाल सरकारले सबै नेपालीहरुलाई सुरक्षीतहुन साबुनपानीले हात धुन,सेनेटाइजर लगाउन, मुखमा माक्स लगाउन,कम्तीमा ३ फिट पर बसेर कुरा गर्न र भिडभाडमा नजान सुचना मार्फत जानकारी गराएको थियो।

कोरोना भाइरसबाट सुरक्षित हुन व्यक्ति आफैं सचेत हुनुपर्ने संचार माध्यमबाट सुचना प्रवाह भइरहेको समयमा नगरबासिलाई बच्न स्थानीय सरकारले सबै वडालाई साबुन बितरण गरेको थियो। गौरादह नगरपालिका भित्रका अन्य वडा कार्यालयहरुले माइकिङ गरि प्रचारप्रसार गर्दै पर्चा पम्प्लेट वितरण गरि वडाबासिहरुलाई सचेत रहन जानकारी गराएका थिए।

माइकिङबाट प्रचारप्रसार गर्दै जनप्रतिनिधि र स्वास्थ्यको टोलिले वडाभित्रका मुख्य चौकहरुमा धारा सहितको ड्रम राखि पानी भर्न लगाएर भिडभाड नगरीकन पालैपालो हात धुने तरिका सिकाएका थिए। वडा नं.२ ले भने नगरपालिकाले प्रचारप्रसारमा पठाएको गाडिकै भरमा बसेको छ। नगरपालिकाले वडा नं.२ का लागि ५ कार्टुन लाईफबाई साबुन पठाएको थियो।

नगरपालिकाले वडा नं २ बासिकालागि पठाएको साबुन वडा भित्र रहेका गरिब, बिपन्न र सुकुम्बासी बस्तीमा घर आँगनमा पुगेर वितरण गरेका छन्। मानिसहरु हिंडडुल गर्दा आराम गर्ने वा काम गरेर थाकेको समयमा विश्राम गर्ने वडा नं.२ का हाँसखोरा, दहलु,मादल डाँगा लगायतका चौकहरुमा साबुन पनि राखिएको छैन। वडा नं.२ भित्रका हाँसखोरा र दहलु सहित ५ वटा मुख्य चौकमा फ्रि वाईफाई राखिएको थियो। केटाकेटी देखि युवा युवती सम्म ईन्टरनेट चलाउन बिहान बेलुका चौकमा आउने गर्दथे।

चौकमा आउने व्यक्तिहरुका लागि हात धुने साबुन पानी राख्नमा भने वडा कार्यालयले हेलचेक्राई गरेको छ। कोरोना भाइरसको संक्रमण त्रास बढेपछि भिडभाड नगर्न भनिएपछी केहिदिन अगाडि वाइफाई बन्द गरिएको छ। लकडाउन भइसकेपछि सबै नागरिकहरुलाई घरैमा बस्न नेपाल सरकारले निर्देशन दिएपछि चौकमा हात धुने साबुन पानी नराखिएको वडा नं.२ का वडाध्यक्ष हेमन्त कार्की बताउछन। लकडाउन पछि नागरिकहरु घरभित्रै बस्ने भएकाले चौकमा धारापानी र साबुनको आवश्यकता नभएको नगर कार्यपालिकाले पछिल्लो पटक निर्णय गरेकाले साबुन पानिको व्यवस्थापन नगरेको वडाध्यक्ष कार्कीको भनाई छ।

तपाईको प्रतिक्रिया