झगेन्द्र खड्का
गौरादह, १ चैत्र । देश भर कोरोना भाइरस नियन्त्रणकालागि विभिन्न उपायहरु अपनाइरहदा भारतीय सिमावर्ती क्षेत्र गौरीगंज नाकामा उच्च सतर्कता अपनाइएको छैन। खुल्ला सिमानाका कारण भारतको बिहारबाट नेपाल तर्फ र नेपालबाट भारततर्फ निर्वाध रुपमा आवतजावत भईरहेको छ। निर्वाध रुपमा नेपाल भारत ओहोरदोहोर भइरहदा कोरोना भाइरस सर्न सक्ने खतरालाई नियन्त्रण गर्न ईलाका प्रहरी कार्यालय गौरीगंजले गाउँपालिकाको मुख्य नाका खजुरगाछीको भारु चौकमा हेल्प डेक्स स्थापना गरिएको छ।
मुलुकभर सरकारी कार्यलय, संघ संस्थाहरुले कोरोना भाइरसको संक्रमणबाट जोगिन र जोगाउन प्रचारप्रसार गरिरहेका छन। गाउँ गाउँमा पुगेर कोरोना नियन्त्रणकालागी जनचेतना मुलक कार्यक्रम संचालन गरिरहेका छन। खुल्ला सिमानाका कारण भारतको बिहारबाट नेपाल तर्फ र नेपालबाट भारततर्फ निर्वाध रुपमा आवतजावत भईरहेको छ।
गौरीगंज क्षेत्रमा २ वटा नाका भएपनि चल्तीको मुख्य नाका खजुरगाछीमा मात्र हेल्पडेक्स राखिएको छ। कोरोना भाइरसको जोखिम न्युनिकरण गर्न ईलाका प्रहरी कार्यलय गौरीगंजले हेल्पडेक्स राखेपनि स्वास्थ्य कर्मी बस्दैनन् । भारुचौकमा पाल टाँगेर कोरोना भाइरसको ब्यानर राखी हेल्पडेक्स तयार गरेपनि सुरक्षाकर्मी, पशु क्वारेन्टाइन र भंसारका कर्मचारीहरु मात्र बस्ने गरेका छन। हेल्पडेक्स राखिएको स्थानमा चेकजाँच गर्ने उपकरण राखिएको छैन भने स्वास्थ्यकर्मी बस्दैनन। भारतबाट नेपाल प्रवेश गरेका भारतीय नागरिकहरुलाई प्रहरीले अटो रिक्सामा आएका र पैदल यात्रीलाई रोकेर हाजिरी राखी सोधपुछ गरेर कोरोना भाइरसका बारेमा जानकारी गराइ नेपाल प्रवेश गर्न दिने गरेको छ।
खजुरगाछीको भारु चौकमा स्थापना गरिएको हेल्पडेक्समा मानिसहरुको बढी आवतजावत हुने समयमा दैनिक दुई घन्टा स्वास्थ्यकर्मी पठाइएको गौरीगंज गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्र बताउँछन्। उनका अनुसार गौरीगंज गाउँपालिका भित्रका सबै सरोकारवालाहरुसंग केहिदिन भित्रैमा छलफल गरि उपयुुक्त स्थानमा स्वास्थ्यकर्मी सहितको हेल्पडेक्स स्थापना गरि नियमित चेकजाँच गराइने बताए।
कोरोना भाइरस नियन्त्रणकालागि अनुगमन तथा सल्लाह सुझाव संकलन गर्न स्टेरिङ कमिटी बनाउने तथा स्वास्थ्यकर्मीकालागि आवश्यक पर्ने उपकरण पनि मगाउने जानकारी गराए। कोरोना भाइरस चेकजाँचकालागि आवश्यक उपकरण नभएका कारण स्वास्थ्यकर्मी नबसेको प्राथमिक स्वास्थ्य केन्द्र गौरीगंजका प्रमुख अनुप शर्मा बताउँछन्।
यसैबिच,विश्वभर कोरोना भाइरसको संक्रमण बढीरहदा गौरीगंजको फत्तेहपुर नाकामा भारतीय पक्षले चेकजाँचमा कडाइ गरेको छ।नेपालबाट भारत प्रबेश गर्ने नागरिकहरुलाई भारतीय सिमा क्षेत्रमा चेकजाँच गरेर मात्र भारत प्रबेश गराएको छ।भारतीय सिमा क्षेत्रमा भारतीय स्वास्थ्यकर्मी,डाक्टर र एसएसबि सहितको टोलीले स्वास्थ्य परीक्षण गरेको हो।

झापाको दक्षिणी क्षेत्र गौरीगंजको मुख्य प्रवेशद्वार खजुरगाछी नाकामा गरिएको चेकजाँच कार्य प्रभावकारी भएको छैन। कोरोना भाइरसको आतंक विस्वभर फैलिरहदा नेपालमा पनि सुरक्षा सतर्कता अपनाउन जरुरी छ।नेपाल भारत खुल्ला सिमाना रहेकाले दुबै तर्फ बराबर आउजाउ भईरहन्छ।नेपाल प्रवेश गर्ने सबै नाकामा चेकजाँच तथा सुरक्षा सतर्कता बढाई प्रभावकारी रुपमा लागू गर्न जरुरी छ।