Online Bichar
बुधबार, मंसिर १०, २०८३ | Wednesday, November 25, 2026

काठमाडौं, १ चैत । सरकारले एसईई परीक्षा अवधिभर देशभरका परीक्षा केन्द्रमा हेल्थ डेस्क सञ्चालन गर्ने भएको छ ।आगामी चैत ६ गतेदेखि सुरू हुने एसईई परीक्षामा हेल्थ डेस्क राख्न जिल्लास्थित परीक्षा समन्वय समितिलाई निर्देशन दिइएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल  र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल सहभागी बैठकले परीक्षा केन्द्रमा हेल्थ डेस्क स्थापना गर्ने र स्थानीय तहहरूमा स्वयम्सेवक परिचालन गर्ने निर्णय गरेको हो । विश्वव्यापी रूपमा फैलिएको कोराना भाइरस (कोभिड–१९) को संक्रमणबाट परीक्षार्थी प्रभावित हुन सक्ने भन्दै परीक्षा केन्द्रमा हेल्थ डेक्स स्थापना गर्न लागिएको हो । डेस्कमा भाइरसको लक्षण देखिएका विद्यार्थीले तुरून्तै जाँच गर्न सक्नेछन् ।

एसईई परीक्षा सञ्चालन र व्यवस्थापनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा परीक्षा समन्वय समिति रहने व्यवस्था छ । उक्त समितिले हेल्थ डेस्क स्थापना र सञ्चालन गर्ने शर्माले जानकारी दिए । शिक्षा मन्त्रालयले स्वास्थ्यकर्मीसहितको डेस्क स्थापनाका लागि स्वास्थ्य मन्त्रालयलाई यसअघि नै आग्रह गरिसकेको थियो । त्यसका लागि स्वास्थ्य मन्त्रालयलाई समेत परीक्षा केन्द्रको सूची उपलब्ध गराइसकेको छ । मुलुकभर १ हजार ९ सय ९४ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुँदैछ । यसवर्ष ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् ।

त्यस्तै यी दुई मन्त्रालयले स्थानीय तहहरूमा कोराना भाइरससम्बन्धी जनचेतना फैलाउन स्वयम्सेवक परिचालन गर्ने भएको छ । स्वयसेवक परिचालनका लागि शिक्षा मन्त्रालयका सहसचिव शर्मा र स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलले स्वयम्सेवकका रूपमा चिकित्सा शिक्षा अध्ययरत विद्यार्थीलाई खटाउने विषयमा अध्ययन गर्नेछ ।

स्‍थानीय तहहरूमा स्वास्थ्य कार्यकर्ता, स्वास्थ्य चौकी, प्राथमिकता स्वास्थ्य केन्द्र, अस्पताल र जिल्ला अस्पातल, निजी अस्पतालका स्वास्थ्यकर्मी र मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान, सीटीईभीटीका नर्सिङ कलेजका विद्यार्थीहरूलाई कसरी परिचालन गर्न सकिन्छ भनेर कार्यदलले अध्ययन गर्ने शर्माले जनाए ।कान्तिपुर

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments