आइतबार, चैत्र १९, २०७९
Sunday, April 2, 2023

झगेन्द्र खड्का
गौरीगंज, २७ फागुन । नेपाल भारत सिमाना छुट्याउने दसगजा क्षेत्रमा रहेका ४ वटा साना स्तम्भ पुरिएका छन। गौरीगंज गाउँपालिका वडा नं. ४ को बाह्रसुदी क्षेत्रको गौरीया खोलामा रहेका ४ वटा साना स्तम्भ पुरिएका हुन। खोला क्षेत्रमा राखिएका ती सिमा स्तम्भहरु खोलाले बालुवा थुपार्दा ४ वटा स्तम्भ पुरिएका हुन।

बालुवाले पुरिएका स्तम्भहरु १४७ को ३,४ र ९ तथा १४८ को ११ रहेको सशस्त्र प्रहरीबल बि.ओ.पि. गौरीगंजले जनाएको छ। गौरीगंज-४ को बाह्रसुदीको गौरिया खोलामा रहेको मुख्य पिल्लर ढलेको १४९ को २४ नंम्बर पिल्लर लढेको हो।

पिल्लर भएको स्थानमा खोला बगिरहेकाले गत असार महिनामा खोलामा बाढी आउदा पिल्लर लढेको स्थानियबासि बताउछन। वर्षादको समयमा पिल्लर ढलेपनि त्यसलाई उठाउने वा मर्मत गर्ने कुनै प्रकारको पहल भएको छैन। त्यस क्षेत्रमा बसोवास गर्ने नागरिकहरुले लढेको पिल्लरलाई लुगा धुने र नुहाउने काममा काममा प्रयोग गरिरहेका छन।

खोलामा ढलेको १४९ को २४ नम्बरको पिल्लरमा गरिएको रङ रोगन उढेको छ भने पिल्लरको नम्बर हराएको छ। खोलामा बाढी आउदा खोलाले आसपासको जमिन काटेर बालुवा थुप्रीदा ४ वटा साना पिल्लर पुरिएका छन। बालुवाले पुरिएका पिल्लरलाई बाहिर निकाल्ने कार्य अहिले सम्म भएको छैन। सशस्त्र प्रहरीबल बि.ओ.पि. गौरीगंजले खोला भित्र बालुवाले पुरिएका पिल्लरहरुको स्थान पहिचान गरिसकेको जनाएको छ। खोलामा पुरिएका र लढेको स्तम्भका बारेमा सम्बन्धित निकायमा जानकारी पठाइसकेको सशस्त्र प्रहरीबल बि.ओ.पि. गौरीगंजका प्रमुख साईमान श्रेष्ठले जानकारी गराए। हराएका साना स्तम्भ कहाँ छ भनेर पहिचान गर्न भाटा वा तारले घोचेर पत्ता लगाएको सशस्त्र प्रहरी बल बि.ओ.पि. गौरीगंजले जनाएको छ।

सिमामा रहेका पिल्लर तथा दसगजा क्षेत्रको निरिक्षण तथा अवलोकन गर्न खटिएको सशस्त्र प्रहरीबल गौरीगंजले दैनिक सिमाक्षेत्रको अवलोकन तथा निरीक्षण गरिरहेको छ। सशस्त्र प्रहरीबल गौरीगंजको क्षेत्रमा झापा जिल्लाको पश्चिम सिमाना रतुवा देखि पुर्वमा किस्ने खोला सम्म ठुला साना गरि ४९ वटा पिल्लर रहेको सशस्त्र प्रहरीबल बि.ओ.पि. गौरीगंजले जनाएको छ। जस अन्तर्गत मुख्य ५ वटा पिल्लरमा एउटा मर्मत गर्नुपर्ने, मझौला स्तम्भ ३ वटा, साना स्तम्भ ३२ वटा रहेकोमा २ वटा मर्मत गर्नुपर्ने र रिफ्रेन्स स्तम्भ १ वटा रहेको सशस्त्र प्रहरीबल गौरीगंजले जनाईएको छ।

सिमा स्तम्भ पुरिएर हराउदा र मुख्य स्तम्भ लढेको लगभग ८ महिना बितिसक्दा समेत सम्बन्धित निकाय मौन छ। गौरीगंज गाउँपालिका वडा नं.४ को बाह्रसुदी बस्तिमा नेपाल तर्फनै पि.पि ३३ नम्बरको पुरानो पिल्लर रहेको छ।

पछिल्लोपटक पुन सर्भे गर्दा सिमा स्तम्भ पछाडि सरेपछि ३३ नम्बर स्तम्भ भएको स्थान नेपालको क्षेत्रमा परेको हो। पुरानो पिल्लर रहेको ठाउँ पछाडि पनि नेपालीहरुको बसोवास रहेको छ। त्यस स्थान पछाडि ८/९ घर ऋषिदेबहरुको बस्ती छ।केही बर्ष पहिले नेपाल भारत दुबै तर्फबाट संयुक्त रुपमा नापिगरि नयाँ पिल्लर राख्ने क्रममा ३३ नम्बर पिल्लर पछाडि खोलाको छेउमा पिल्लर राखिएपछि सो पिल्लर र ऋषिदेव बस्ती नेपाली भूभागमा परेको हो।

नयाँ पिल्लर राखिनु अघि भारतीय एस.एस.बि. ले ऋषिदेब बस्तीमा आई पटकपटक ठाउँ छोड्न भन्ने गरेको स्थानीय जयराम ऋषिदेवले बताए। उनका अनुसार पहिले देखिनै नेपाल सरकारलाई कर तिर्ने गरेको र आफुहरु नेपाली रहेको उनले बताए। भारतीय एस.एस.बि. हरुले अहिले आफुहरुलाई केही नभनेपनि नेपाली भूभागमा रहेको पुरानो पि.पि ३३ नम्बरको पिल्लरलाई भारतिय एस.एस.पि. हरुले नियमित रुपमा निरिक्षण तथा अबलोकन गरिरहेको जयरामले बताए।

तपाईको प्रतिक्रिया