Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौँ, २६ फागुन । सरकारले कोरोनाबाट अति प्रभावित पाँच मुलुकका नागरिकलाई नेपाल प्रवेशमा कडाइ गरेको छ । उनीहरू नेपाल प्रवेश गर्दा अनिवार्य रूपमा कोरोना संक्रमित नभएको प्रमाण पत्र बुझाउनु पर्ने व्यवस्था गरेको हो ।

भोलि (मार्च १०) देखि चीन, दक्षिण कोरिया, इटाली, इरान र जापानबाट आउने विदेशीले आफू संक्रमित नभएको स्वास्थ्य प्रमाण-पत्र हवाई कार्यालय र अध्यागमन नाकामा अनिवार्य बुझाउनुपर्नेछ ।

यी पाँच मुलुकलाई ‘ट्रान्जिट’ बनाई नेपाल प्रवेश गर्न खोज्ने विदेशीले समेत आफू संक्रमित नभएको प्रमाण-पत्र बुझाउनु पर्ने भएको छ ।

सरकारले हवाई तथा स्थल मार्गबाट नेपाल प्रवेश गर्नेले अध्यागमन नाकामा कोरोना भाइरसबाट संक्रमित नभएको व्यहोराको स्वास्थ्य प्रमाण(पत्र अनिवार्य गरेको हो । गृह मन्त्रालयले नेपालस्थित विदेशी कूटनीतिक नियोगलाई पत्राचार गरेर स्वास्थ्य प्रमाण-पत्र अनिर्वाय गरेको जानकारी गराएको छ ।

कोरोनाबाट संक्रमित नभएको स्वास्थ्य प्रमाण-पत्र नबुझाउने विदेशीलाई नेपाल प्रवेशमा रोक लगाउने सरकारको तयारी छ । ‘कोरोना भाइरस नभएको स्वास्थ्य प्रमाण-पत्र नभएकालाई फिर्ता पठाउने’ अध्यागमन विभागले जनाएको छ ।

गृह मन्त्रालयले चीन, दक्षिण कोरिया, इटाली, इरान र जापानीलाई तत्कालका लागि स्थल मार्गबाट नेपाल प्रवेशमा रोक लगाउने तयारी गरेको हो । ती मुलुकका नागरिकलाई हवाई मार्गबाट मात्र प्रवेश गर्न अनुमति दिइने भएको छ ।

नेपालमा कोरोनाको संक्रमण नफैलियोस् भनेर गृहले ती मुलुकका नागरिकलाई स्थल मार्गबाट नेपाल प्रवेशमा रोक लगाउन लागेको हो । यो विषयमा फागुन २२ गते कन्सुलर सेवा विभागमार्फत विदेशस्थित सबै नेपाली नियोगमा पत्राचार गरिसकेको गृहमन्त्रालयले जनाएको छ ।न्यूज२४

तपाईको प्रतिक्रिया