Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, ८ फागुन । पश्चिमी न्यूनचापीय वायुको प्रभावले बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

न्यूनचापीय प्रणालीको प्रभावले देशभरि बदली रही पहाडी भू–भागका एकरदुई स्थान र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन् ।

मौसमविद्काअनुसार उक्त वायुको प्रभावले देशका धेरैजसो स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उपत्यकामा बिहीबार केही समय घाम लागे पनि मध्याह्नबाट बदली भइ वर्षा हुने बताइएको छ ।

उपत्यकामै पनि कुनै ठाउँमा वर्षा हुने, कुनै ठाउँमा नहुने बताइएको छ । पश्चिमी वायुको प्रभाव शनिबारबाट विस्तारै कम हुँदै गएपनि तुवाँलो भने यथावत् रहने छ ।

तुवाँलो हट्नका लागि भारी वर्षा हुनुपर्छ र हावाको गति पनि बढ्नुपर्छ । ‘तत्काललाई भारी वर्षाको सम्भावना भने छैन’–मौसमविद् कँडेलले भनिन् ।

शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रही पूर्वी भू–भागका केही स्थानमा हल्का वर्षा र पश्चिमी तथा मध्यम क्षेत्रका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भू–भागका केही स्थान र पश्चिमी पहाडी भेगका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बिहीबार काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम ९.८ डिग्री सेल्सियस रहेको छ ।

बिहीबार सबैभन्दा कम जुम्लाको न्यूनतम् तापक्रम माइनस ०.१ डिग्री सेल्सियस मापन गरिएको छ । रासस

तपाईको प्रतिक्रिया