Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं– नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता इन्दु तुलाधरले बिहिबार संविधान र कानुन विपरित रहेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

‘दल दर्ताका लागि सो पार्टीको केन्द्रीय समितिमा एक तिहाई महिला सदस्य अनिवार्य हुनुपर्ने संविधान र दल दर्ता ऐनको किटानी व्यवस्था’ विपरित सो पार्टीलाई दर्ता गर्ने निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गर्दै सर्वाेच्चमा रिट दायर गरिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्रकुमार कालाखेतीले जानकारी दिए । रिटमा संविधान र दल दर्ता ऐन बमोजिम सो दल र अन्य दलहरुलाई पनि दल दर्ता गर्न÷गराउन तत्काल परमादेश जारी गर्न पनि माग गरिएको सर्वोच्च अदालतले जनाएको छ ।

निर्वाचन आयोगले गत जेठ २३ गते केपी ओली र पुष्पकमल दाहाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दल दर्ता गर्ने निर्णय गरेको थियो । सोही निर्णय संविधान र दल दर्ता ऐन विपरित भएकाले खारेज गर्नुपर्ने रिट निवेदकद्धय वरिष्ठ अधिवक्ता भण्डारी र अधिवक्ता तुलाधरको दावी छ ।

तपाईको प्रतिक्रिया