Online Bichar
बुधबार, मंसिर ०३, २०८३ | Wednesday, November 18, 2026

काठमाडौं, १ मंसिर २०८३ । कास्की जिल्ला अदालतले बागलुङको ढोरपाटन नगरपालिकाका पूर्वमेयर देवकुमार नेपालीलाई सहकारी ठगीको कसुरमा ८ वर्ष जेल सजाय हुने फैसला सुनाएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रप्रकाश तिवारीको इजलासले उक्त फैसला गरेको हो । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष नेपालीलाई १ करोड २६ लाख रुपैयाँ जरिवाना समेत भएको छ ।

जिल्ला अदालत कास्कीका अधिकृत तारानाथ पोखरेलले दिएको जानकारी अनुसार, तिहारअगाडि कात्तिक १७ गते उक्त फैसला सुनाइएको हो ।

इमेज सहकारीका अर्का सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानलाई जनही ७ वर्ष कैद र १ करोड २६ लाख रुपैयाँ जरिवानाको सजाय भएको छ ।

अधिकृत पोखरेलले सहकारीका सञ्चालक निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल र विमला गुरुङलाई पनि जनही ६ वर्ष कैद र १ करोड २६ लाख रुपैयाँ जरिवाना तोकिएको जानकारी बाह्रखरीलाई दिए ।

सहकारीबाट ठगिएको भन्दै ११० जना बचतकर्ताले दिएको जाहेरी अनुरुप उनीहरूलाई मुद्दा चलाइएको थियो ।

उनीहरूविरुद्ध १८ करोड ९६ लाख ५९ हजार रुपैयाँ बिगो दाबी थियो । पूर्वमेयर नेपाली कुनै बेला पोखरामा स्थापना गरिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा समेत उपाध्यक्ष थिए ।

सहकारीका अर्का सञ्चालक जीबी राईसँग विवादपछि छुट्टिएर इमेज सहकारी खोलेका हुन् ।

इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहितका सञ्चालकविरुद्ध अन्य ५२४ जना बचतकर्ताले ५७ करोड ३५ लाख रुपैयाँ बिगो दाबीसहित भिन्नै जाहेरी दिएका थिए ।

तिमध्ये अधिकांश बचतकर्तासँग मिलापत्रपछि जाहेरी फिर्ता भएको थियो । तर, ११० जना बचतकर्ताले दिएको पूरक जाहेरीका आधारमा दर्ता भएको अभियोगपत्रका आधारमा मुद्दा चलेको थियो ।

पोखरा र नेपालीको गृहजिल्ला बाग्लुङमा इमेज बचत तथा ऋण सहकारी सञ्चालनमा थियो ।

यी प्रतिवादीविरुद्ध बागलुङ जिल्ला अदालतमा पनि सहकारी ठगी मुद्दा विचाराधीन छ । दुवै सहकारीमा गरी करिब २ अर्ब रुपैयाँ अपचलन भएको दाबी लिइएको थियो ।

सहकारी ठगीमा मुद्दा दर्ता भएलगत्तै फरार भएका ढोरपाटनका पूर्वमेयर नेपालीलाई नेपाल प्रहरीले इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गर्दै भारतमा लुकेको अवस्थामा पक्राउ गरेको थियो ।

नेपालीलाई २०८१ असोज ११ गते भारतबाट पक्राउ गरी नेपाल ल्याइएको थियो । उनी कास्की र बागलुङ अदालतको आदेशअनुसार पुर्पक्षका लागि थुनामा छन् । नेपाली नेकपा ९एमाले० बाट दोस्रोपटक ढोरपाटन नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया