Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठ्माडौं, २९ माघ । कुखुरा व्यवसायमा चलखेल हुन थालेपछि त्यसको नियमनका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कार्यविधि बनाउने योजना बनाएको छ।

ह्याचरी उद्योग सङ्घले केही समय अघि बजार व्यवस्थापन गर्ने भन्दै ठूलो परिमाणको अण्डा तथा चल्ला नष्ट गरेका थिए। त्यसको एक महिना पनि नपुग्दै कुखुराको मासुको मूल्य अस्वभाविक रूपमा बढाइएपछि विभागले अनुगमन गर्न थालेको थियो।

मासुको मूल्य किन बढाइएको हो भनेर व्यवसायीसँग एक चरणको कागजात सङ्कलन गरि सकेको विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदीले जानकारी दिए।

‘हामीले एक चरणको काम त सकिसक्यौं, अझै उनीहरूसँग थप स्पष्टिकरण माग गर्न बाँकी छ,’ उनले भने, ‘व्यवसायीले पर्यात आधार प्रस्ट्याउन सकेका छैनन्।

उनका अनुसार विभागले कुखुरासँग सम्बन्धित सबै पक्षसँग छलफल गरिरहेको छ। किसान सङ्गठनसँग छलफल गर्दा चल्ला उधारोमा ल्याउन पर्ने भएकाले किसान दबाबमा परेको देखिएको छ।

कुखुराका मासु उपभोक्तासम्म पुग्नका लागि दाना व्यावसायी, ह्याचरी , डिलर र किसानको उत्तिकै भूमिका रहन्छ। यी सबैलाई समेटेर कार्यविधि बनाउने योजना बनाएको महानिर्देशक सुवेदीले जानकारी दिए।

‘यो व्यवसायमा ठूला व्यावसायीको बाहुल्यता देखिएको छ। यसको जरैदेखि समस्या समाधान गर्न हामीले पशु सेवा विभागसँग मिलेर कार्याविधि नै बनाएर अगाडि बढ्ने योजना बनाएका छौं,’ उनले भने।

पुस अन्तिम हप्ता प्रतिकेजी २८० रूपैयाँ रहेको कुखुराको मासु माघको पहिलो हप्तादेखि अत्यधिक मूल्यवृद्धि हुँदै गएको थियो।

माघ पहिलो हप्तासम्म मासु प्रतिकेजी २८० देखि ३०० रूपैयाँसम्म थियो। दोस्रो हप्ता ३६० देखि ३७० सम्म पुग्यो। तेस्रो हप्ता आइपुग्दा ४१० देखि ४२० रूपैयाँसम्म पुगेको थियो।सेतोपाटी

तपाईको प्रतिक्रिया