Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, २८ माघ । सरकारले देशभर थप एक दर्जन नयाँ विमानस्थल बनाउने तयारी गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलसहित थप १३ विमानस्थल निर्माणको योजनामा छन् । ति विमानस्थलमध्ये कतिपयमा सम्भाब्यता अध्ययन, वातावरणीय प्रभाव मूल्यांकनको काम समेत भइसकेको छ ।

आयोजनाको सूचिमा सरकारले पटक पटक अध्ययन गरेपनि सम्भाब्य नदेखिएको काभ्रेमा प्रस्तावित त्रिभुवन विमानस्थलको वैकल्पिक आन्तरिक विमानस्थलसमेत रहेको छ । सरकारले आगामी ५ वर्ष भित्र हवाई पूर्वाधारमा मात्र ३ खर्ब ३५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । यी विमानस्थल सोही लगानीभित्र सम्पन्न गर्ने लक्ष्य प्राधिकरणले लिएको छ । यो रकममध्ये १ खर्ब ५० अर्ब रुपैयाँ निजगढ विमानस्थलमा मात्र खर्च हुनेछ ।

प्रस्तावित विमानस्थल अहिलेमात्र अगाडि बढेका भने होइनन् । विगतदेखि सरकारले नीति तथा कार्यक्रममा राखेपनि कार्यानवयनमा जान नसकेका विमानस्थल आयोजनालाई प्राधिकरणले प्रस्तावित विमानस्थलको सूचिमा राखेको हो ।

नेपालमा अहिले निर्माण सम्पन्न भइसकेका विमानस्थलको संख्या ५४ पुगिसकेको छ । यसमा काठमाडौंस्थित त्रिभुवन विमानस्थलसमेत हो । बनिसकेका विमानस्थलमध्ये ३२ विमानस्थलमात्र नियमित संचालनमा छन् ।

२२ विमानस्थल भने बन्द अवस्थामा छन् । कतिपय व्यापारिक दृष्टिले चल्न सकेनन् भने कतिपय सडक यातायातका कारण विमानस्थल नै विस्थापित हुने अवस्थामा पुगेका हुन् । दुई विमानस्थल (पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय र अर्घाखाँची विमानस्थल)निर्माणाधिन अवस्थामा छन् ।

दाङ (नारायणपुर), धनकुटा, धरान, गुडेल (सोलुखुम्बु) , हुम्ला (मदनखौला) , पाँचथर (रानीटार), प्यूठान (स्वर्गद्धारी), निजगढ विमानस्थल (बारा), तेह्रथुम (चुहानडाँडा), उदयपुर (जोगिदह), बाग्लुङ (अरङकोट), काभ्रे र चरङ (मुस्ताङ)मा विमानस्थल बनाउन प्रस्ताव गरिएको हो ।अनलाइनखबर

तपाईको प्रतिक्रिया