Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, ९ माघ । राष्ट्रिय सभाको १८ सिटका लागि भएको चुनावमा सत्तारूढ नेकपाले १६ सिट हात पारेको छ । नेकपाकै समर्थनमा राष्ट्रिय जनता पार्टीले दुई सिट जितेको छ ।

अब ५९ सदस्यीय राष्ट्रिय सभामा सरकारले मनोनित गर्ने तीन जनाबाहेक ४७ जना नेकपा सांसद भएका छन्। थोरै संख्याको कमीले प्रतिनिधिसभामा दुई तिहाइ पुग्न चुकेको सत्तारूढ दल नेकपाले माथिल्लो सदनमा भने दुई तिहाइभन्दा पनि बढी संख्या बनाएको छ।

पार्टी सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन्। यसअघि गत प्रतिनिधिसभा निर्वाचनमा गोरखा २ मा उनी बाबुराम भट्टराईसँग पराजित भएका थिए। राष्ट्रिय सभामा निर्वाचित भएका नेताहरूमा पार्टीको नेतृत्व पंक्तिमा रहेका हिसबाले श्रेष्ठ ‘हाइप्रोपाइल’ हुन्।

नयाँ निर्वाचितले फागुन २१ देखि मात्र जिम्मेवारी पाउनेछन्। राष्ट्रिय सभामा प्रतिपक्षी कांग्रेस १३ संख्याबाट ६ जनामा खुम्चिएको छ। नेकपासँग गठबन्धन गरेर राजपा भने आफ्नो दुई सिट जोगाउन सफल भएको छ। समाजवादीले आफ्नो दुई सिटमध्ये एक गुमाएको छ। कांग्रेसले गुमाएको ७ र समाजवादीको १ गरी राष्ट्रिय सभामा साविकको भन्दा ८ सिट नेकपाले बढोत्तरी गरेको छ।

प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मतबाट प्रदेशगत रूपमा राष्ट्रिय सभा सदस्य चुनिन्छन्। सातवटै प्रदेशसभाका ५ सय ५० जना सदस्यमध्ये बिहीबारको मतदानमा ५ सय ४५ जनाले भोट हालेको निर्वाचन आयोगले जनाएको छ। त्यस्तै, स्थानीय तहका १ हजार ५ सय ६ जनामध्ये १ हजार ४ सय ९५ जनाले मतदान गरेका छन्।

गोलाप्रथाबाट दुईवर्षे कार्यकाल परेका कारण नेकपाका ८ जना सांसदहरू कमलाकुमारी वली, कालीबहादुर मल्ल, खेमराज नेपाली, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर र हरिचरण शिवाकोटी आगामी फागुन २० गतेदेखि बिदा हुनेछन्। त्यस्तै कांग्रेसका ७ जना दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, बद्रीप्रसाद पाण्डे, मुक्ताकुमारी यादव, विन्दादेवी आले राना, सरिता प्रसाईं र सुरेन्द्रराज पाण्डे पनि बिदा हुँदै छन्।

राजपाका २ जना रमेशप्रसाद यादव र वृषेशचन्द्र लाल तथा समाजवादी पार्टीका दुईमध्ये रामपृत पासवनाको कार्यकाल पूरा भएर बिदा हुनेछन्। कार्यकाल सकिन थालेका मध्ये कोही पनि नयाँ निर्वाचनबाट दोहरिएका छैनन्। विजयी भएका नयाँ सदस्यको कार्यकाल ६ वर्षको हुनेछ।कान्तिपुर

तपाईको प्रतिक्रिया