Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

विराटनगर । सुन तस्करी प्रकरण र सनम शाक्य हत्या प्रकरणमा मुछिएका नेपाल प्रहरीका एसएसपी श्याम खत्री जेल चलान भएका छन् ।

बिहीवार विहान जिल्ला अदालत मोरङमा उपस्थित भएका खत्रीलाई मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो ।

अदालतमा उपस्थित भएसँगै खत्रीको बयान लिइएको थियो । बयान सकिएसँगै शुरु भएको थुनछेक बहस पछि मोरङ जिल्ला अदालतका न्यायाधीश नारायण शर्माले खत्रीलाई पूर्पक्षमा राख्न आदेश दिएका हुन् ।

सुन तस्करीबारे छानविन गर्न बनेको समितिले काम सुरु गरेपछि खत्री फरार रहँदै आएका थिए । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विभागमा कार्यरत खत्रीलाई सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको छानविन समितिले खोजिरहेको थियो ।

सुन तस्करीमा संलग्न मुख्य नाइके भनिएका चुडामणी उप्रेती ‘गोरे’ पक्राउ परेपछि उनले एसएसपी खत्रीलाई नियन्त्रणमा लिएमा सुनको सबै नेक्सस खुल्ने बयान दिएका थिए ।

२०७४ फागुन पहिलो साता चुडामणि उप्रेती ‘गोरे’ले ल्याएको भनिएको ३३ किलो सुन त्रिभुवन विमानस्थलबाटै बाहिरिएको थियो । दुबईबाट त्रिभुवन विमानस्थल हुँदै बाहिरिएको उक्त सुन लुटिएपछि गोरेको समूहको यातनाका कारण सुनका भरिया सनम शाक्यको फागुन १८ गते हत्या भएको थियो ।

सनमको हत्यापछि ३३ किलो सुन तस्करीबारे छानविन गर्न बनेको समितिले नेपाल प्रहरीका उच्च अधिकारी सहित ६३ जनलाई प्रतिवादी बनाएर मोरङ जिल्ला अदालतमा संगठित अपराध, अपहरण तथा शरीर बन्धन र कर्तब्यज्यान मुद्धा दर्ता गरेको थियो । जुन मुद्दा अहिले पनि अदालतमा विचाराधीन अवस्थामा छ ।

यो प्रकरणमा हालसम्म उच्च प्रहरी अधिकारी र गोरेसहित यसअघि २९ जना पूर्पक्षका लागि जेल चलान भइसकेका छन् ।

तपाईको प्रतिक्रिया