Online Bichar
सोमबार, बैशाख २८, २०८३ | Monday, May 11, 2026

विराटनगर, ६ माघ । प्रदेश १ को लोकसेवा आयोगमा ३ जनाको नाम सिफारिस भएको छ। अध्यक्ष सहितका पदाधिकारी नियुक्त गर्न सिफारिस समितिले सोमबार ३ जनाको नाम प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो।

आयोगको अध्यक्षमा खोटाङका उत्तमकुमार भट्टराईलाई नियुक्त गर्न सिफारिस गरिएको छ भने सदस्यमा टीकादत्त राई र सीमा आभाषको नाम सिफारिस भएको छ। प्रदेश १ को लोकसेवा आयोग गठन सम्बन्धी ऐनअनुसार सिफारिस समितिले प्रमुखसमक्ष नाम सिफारिस गरेको हो।

अध्यक्षमा सिफारिस भएका भट्टराई पूर्वकृषि सचिव हुन् भने राई प्रदेश १ मुख्यमन्त्री कार्यालयका सचिव र आभाष कांग्रेसको कोटाबाट सदस्य बनेकी हुन्। आभाष साहित्य क्षेत्रमा सक्रिय छिन्। प्रदेश लोकसेवा आयोग सिफारिस समितिमा मुख्यमन्त्री, सभामुख र प्रमुख विपक्षी दलका नेता रहने प्रावधान छ।

लोकसेवा आयोगमा एक अध्यक्ष र दुईजना सदस्य हुने प्रावधान छ। आयोगको अध्यक्ष हुने व्यक्तिले मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनुपर्ने, नियुक्ति हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने छ। यसैगरी पैंतालिस वर्ष उमेर पूरा भएको र उच्च नैतिक चरित्र भएको हुनुपर्ने प्रदेश लोक सेवा आयोग (आधार र मापदण्ड निर्धारण) ऐन, २०७५ मा उल्लेख छ।

आयोगका सदस्यमध्ये एक जना २० वर्ष वा सोभन्दा बढी कुनै सरकारी सेवामा रहेको हुनुपर्ने व्यवस्था छ। त्यस्तै बाँकी सदस्यहरू विज्ञान, प्रविधि, कला, साहित्य, कानून, जनप्रशासन, समाजशास्त्र वा राष्ट्रिय जीवनका अन्य क्षेत्रमा शोध, अनुसन्धान, अध्यापन वा अन्य कुनै महत्वपूर्ण कार्य गरी ख्याति प्राप्त गरेको हुनुपर्छ। प्रदेश लोकसेवा आयोगका पदाधिकारीको सेवा अवधि ६ वर्ष तोकिएको छ।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments