Online Bichar
सोमबार, बैशाख २८, २०८३ | Monday, May 11, 2026

काठमाडौं, ५ माघ । माघ नौ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि माघ ६ गते राति १२ बजेबाट मौनअवधि सुरु हुने भएको छ । निर्वाचन आयोगले यसअवधिमा निर्वाचन आचारसंहिता कडाइका साथ लागु गर्ने जनाएको छ । मौनअवधि सुरु भएपछि प्रचार प्रसार गर्न पाइने छैन ।

आयोगले निर्वाचन आचार संहिता बमोजिम ४८ घण्टा अगाडि अर्थात भोलि २०७६ साल माघ ६ गते सोमबार राति १२ः०० बजे देखि मौन अवधि शुरु हुने भन्दै मौन अवधिमा कुनै पनि सञ्चार माध्यमबाट निर्वाचन प्रचार प्रसार कार्य गर्न गराउन नपाइने जनाएको छ ।

‘मौन अवधिमा आफ्ना वेभसाइट, ट्वीटर, फेसबुक, भाइवर वा एसएमएस जस्ता सामाजिक संजाल वा विद्युतीय माध्यमको प्रयोग गरी मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न निषेध गरिएको छ । यस अवधिमा निर्वाचन, मतदाता र मतदान कार्यलाई प्रभाव पार्ने गरी वा त्यस्तो उदेश्य लिई छलफल, गोष्ठी, सेमिनार, अन्तरक्रिया, मतदाता शिक्षा, पत्रकार भेटघाट वा यस्तै प्रकृतिका कुनै पनि कार्य गर्न गराउन पाइने छैन । त्यसैले मौन अवधिमा आचार संहिताको पूर्णपालना गर्न गराउन हुन आयोग सम्पूर्ण निर्वाचन सरोकारवालासँग अपिल गर्दछ’, आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मौन अवधिको समयमा जिल्लास्तरमा आचार संहिताको अनुगमन तथा सुपरिवेक्षण गर्ने कार्यमा सबै जिल्ला निर्वाचन कार्यालय र सातवटा प्रदेशका उच्च अदालत रहेका जिल्लामा राष्ट्रियसभा निर्वाचन, २०७६ सम्पन्न गर्न स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयले आचार संहिता विपरितका कुनै कार्य गर्न प्रयत्न भएमा तत्काल रोक्नसक्ने आयोगले जनाएको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्ने गराउने कार्यमा सहयोग पु¥याउन हुन सबै मतदाता, उम्मेदवार, राजनीतिकर्मी, निर्वाचनमा संलग्न कर्मचारी, समाजसेवी, पत्रकार, विभिन्न पेशा तथा व्यवसायमा संलग्न व्यक्ति लगायत आमनागरिकलाई निर्वाचन आयोग निर्देश गरेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन सातवटा प्रदेशका उच्च अदालत रहेका जिल्लाहरू क्रमशः मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा हुँदैछ । यस निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं विश्वसनीय रूपमा सम्पन्न गर्न गराउन निर्वाचन आयोगले मिति २०७६ साल पुस २७ गतेबाट नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह लगायत निर्वाचन आचार संहिताले तोकेका सबै सरोकारवालाहरूले पालना गर्ने गरी निर्वाचन आचार संहिता, २०७२ लागू गरेको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments