Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

धरान, २९ पुष । निकासी गर्न प्रतिबन्ध लगाइएको सुपारी मध्यरातमा भारततर्फ तस्करी हुने गरेको छ। सुपारीको सिजन सुरु हुनु अगावै तस्करले प्रदेश १ का किसानले लगाएको सुपारी बोटबाटै तस्करी गर्न थालेका छन्।

नेपाल-भारत खुला सिमानाको मौका छोपी तस्करले प्रदेश-१ का सुनसरी, मोरङ र झापा जिल्लाबाट सुपारी भारतीय तस्करले बोटबाटै टिपेर रातारात भारततर्फ तस्करी गर्न थालेका हुन्। भारतीय तस्कर तीनवटै जिल्लामा परिचालित छन्। तस्करले दिनभरि किसानका बारीमा गएर मूल्य गर्ने र मध्यराति भारततर्फ तस्करी गर्ने गरेका छन्। किसानबाट संकलन गरेको काँचो सुपारी राति भारततर्फ लैजाने गरेको सुपारी संकलनमा खटिएका भारत पूर्णियाका मोहम्मद जाविरले बताए।

नेपाल सरकारले भारतलगायत तेस्रो मुलुकमा सुपारी निकासीमा प्रतिबन्ध लगाएको भए पनि तस्करले सुनसरी, मोरङ र झापा जिल्लामा उत्पादित सुपारी दिनभरि संकलन गरी राति भारततिर तस्करी गर्ने गरेका छन्। सरकारले सुपारी निकासी गर्न प्रतिबन्ध लगाएपछि तस्करले सिजन सुरु हुनु अगावै काँचो सुपारी संकलन तीव्र पारेका छन्। झापाको दमक, केरखा, बिर्तामोड, भद्रपुर, बेलडागी, काँकडभिट्टा, धुलाबारी, भद्रपुरलगायत स्थानमा संकलन गरिरहेका छन्। मोरङको विराटनगर, झोराहाट, बेलबारी, उर्लाबारी, पथरी, रंगेलीलगायत स्थानबाट तस्करले सुपारी संकलन गरिरहेका छन्।

भारतीय तस्करले काँचो सुपारी बोक्रैसँग जोखेर प्रतिकेजी १५ देखि २५ रुपैयाँमा खरिद गर्ने गरेका छन्। धरान १५ का राम दासले ९ वटा बोटमा फलेको सुपारी एक हजार ८ सय रुपैयाँमा बिक्री गरेको बताए।

भारतीय तस्करले संकलन गरेको सुपारी प्रदेश-१ का काँकडभिट्टा, जोगवनी, भान्टाबारी, कप्तानगन्ज, साहेबगन्जलगायत खुला सीमा नाकाबाट भारततर्फ लैजाने गरेको छन्।

आन्तरिक राजस्व कार्यालय धरानका प्रमुख तीर्थ बरालले सुपारी व्यवसायीले गोदामको दर्ता र स्वीकृत लिएर मात्र सुपारी भण्डारण गर्ने व्यवस्था रहेको बताए। राजस्व कार्यालयको अनुमतिबेगर सुपारी भण्डारण गरी कारोबार गरिए अवैध ठहर हुने उनको भनाइ छ।

प्रदेश-१ का प्रहरी प्रवक्ता शेखर कोइरालाले अवैध रूपमा हुने सुपारी तस्करी नियन्त्रण गर्न सबै नाकामा कडाई गरिएको बताए। उनले सुपारी तस्करी नियन्त्रण गर्न भन्सार कार्यालयसँग समन्वय गरी तत्काल नियन्त्रणको काम थाल्ने बताए।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया