Online Bichar
मंगलबार, बैशाख ०९, २०८२ | Tuesday, April 22, 2025

काठमाडौं, २६ पुष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपसभामुख शिवमाया तुम्बाहाङफेलाई पदबाट राजीनामा गराउने निर्णय गरेको छ।

शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा गर्न लगाउने निर्णय गरेको हो।

नेकपाबाट उपसभामुख बनेकी शिवमायालाई राजीनामा गराएर सभामुख निर्वाचन प्रक्रिया अगाडि बढाउने गरी निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उपसभामुख शिवमायाले राजीनामा दिएपछि मात्र सभामुख को बन्ने भन्ने टुंगो लाग्ने श्रेष्ठको भनाइ छ।

सभामुखको टुंगो नलाग्दा पुस ४ गतेपछि प्रतिनिधिसभाको बैठक बस्न सकेको छैन। पुस ११ र १६ गते सूचना टाँसेर बैठक स्थगित भएको थियो। अर्को बैठक आइतबार बस्दैछ।

सभामुखको दौडमा नेकपाभित्र पूर्व एमालेको तर्फबाट सुवास नेम्वाङ र पूर्व माओवादीको तर्फबाट अग्नी सापकोटा र पम्फा भुसालको नाम चर्चामा छ।

तपाईको प्रतिक्रिया