Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, २५ पुष । त्रिभुवन विश्वविद्यालयल (त्रिवि) ले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको गर्ने निर्णय गरेको छ । त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले फागुन १४ गते स्ववियु निर्वाचन गर्ने घोषणा गरेको विद्यार्थी कल्याण महाशाखा प्रमुख गङ्गाबहादुर थापाले जानकारी दिए ।

परिषद्ले महाशाखा प्रमुख थापालाई त्रिवि अन्तर्गतका क्याम्पसमा स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन दिइसकेको छ । उनले सोमबार त्रिविका ६२ आङ्गिक क्याम्पसलाई पत्र लेख्दै निर्वाचनको तयारी गर्न निर्देशन दिने बताए ।

त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त करीब एक हजार ५१ क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ । विगत दश वर्षदेखि स्ववियु निर्वाचन हुन नसक्दा अधिकांश क्याम्पस स्ववियुविहीन छन् । महाशाखा प्रमुख थापाले सबै विद्यार्थीसँग छलफल गरेर निर्वाचनको तालिका सार्वजनिक गर्ने बताए ।

प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता त्रिविका सबै क्याम्पसमा हुनसकेको छैन । विद्यार्थी सङ्गठनबीच उमेर हदबन्दी र निर्वाचन प्रणालीबीच सहमति हुन नसक्दा धेरै क्याम्पसमा निर्वाचन हुन नसकेको हो । विसं २०७३ मा करीब २५० क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । त्यतिबेला उपत्यकाभित्रका आरआर, शिक्षा, सानोठिमी, भक्तपुर बहुमुखी, पिपल्स, जनप्रशासन, पुल्चोक इञ्जिनीयरीङ, थापाथली इञ्जिनीयरिङ, महाराजगञ्ज शिक्षण अस्पताललगायतका क्याम्पसमा भने निर्वाचन भएको थियो ।

विसं २०७३ भएको स्ववियु निर्वाचनको २०७५ फागुन १४ गते नै कार्यकाल सकिएपनि त्रिविले एकवर्ष समयावधि थप गरेको थियो । त्यसअघि त्रिविले तीन पटक स्ववियु निर्वाचन घोषणा गरेपनि हुनसकेको थिएन । त्रिविको विनियमावलीमा संशोधन गरेर २०६९ सालमा २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमा स्ववियु निर्वाचन गर्ने व्यवस्था गरेको थियो ।रासस

तपाईको प्रतिक्रिया