Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

उदयपुर, २४ पुष । कटारी नगरपालिका ४ सिम्लेको गाउँनजिकको मरुवा जंगल निकै गन्हायो। जनावर हो कि मान्छे मरेको भन्ने विषयले गाउँमा हल्लाखल्ला मच्चियो। त्यही दुर्गन्धलाई आधार मान्दै गाउँले जंगलतर्फ लागे।

अन्ततः नजिकै एउटा सडेगलेको अवस्थामा आत्महत्या गरिएको जस्तो शव फेला पर्‍यो। अनुहारमा एसिड छर्किएर नचिनिने भएको युवतीको शव हत्या हो कि आत्महत्या ? भन्ने विषयमा गाउँले अन्योलमा परे। नजिकैको इलाका प्रहरी कार्यालय कटारीलाई स्थानीयले खबर गरे। केही समयपछि पुगेको प्रहरी टोलीले घटनाको प्रकृति हेर्दा आत्महत्या नभई हत्या गरेको आंशका गर्‍यो र अनुसन्धानको क्रममा नजिकमा युवतीले बोक्ने झोला र त्यसभित्र मोबाइलको सिम फेला पार्‍यो। सिमलाई आधार मान्दै प्रहरीले थप अनुसन्धान गर्‍यो।

अनुसन्धानबाट मृतक उदयपुरगढी गाउँपालिका ५ बाहुनीटारकी १७ वर्षीया संगीता विश्वकर्मा रहेको पुष्टि भयो। प्रहरीले माइती पक्षसँग गरेको सम्वादका आधारमा संगीताले कटारी नगरपालिका ४ सिम्लेका युवराज कार्कीसँग प्रेमविवाह गरेको थाहा भएको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी प्रमुख डिएसपी प्रेमसागर केसीले बताए। घटनापछि युवराजका परिवार फरार रहे। झन्डै दुई वर्षको अनुसन्धानपश्चात प्रहरीले हत्या भएको भन्दै गएको २०७६ मंसिर २२ देवर सुजन कार्कीलाई पक्रियो।

अनुसन्धानका क्रममा सुजनले भाउजुले थर ढाँटेपछि परिवारका सदस्यले योजना बनाएर हत्या गरेको स्वीकार गरेको डिएसपी केसीले बताए। श्रीमान् युवराज कार्की, ससुरा नैनबहादुर कार्की र देवर सुजन कार्कीले संगीताको हत्या गरेको डिएसपी केसीले बताए। कटारीबाटै सुजनलाई नियन्त्रणमा लिएर गरिएको अनुसन्धानपछि उनका बुबा र दाजुलाई पनि काठमाडौंको कपनबाट गएको २०७६ मंसिर २३ गते नियन्त्रणमा लिइएको डिएसपी केसीले बताए।

‘सुजनलाई पक्राउ गरेपछि अन्य दुईजना काठमाडौंमा रहेको खुल्नासाथ पक्राउ गर्न सफल भयौं’, डिएसपी केसीले भने, ‘फरार तीनैजना पक्राउ गर्न नियमित अनुसन्धान गरिरहेका थियौं।’ आरोपित समूहलाई अनुसन्धान प्रक्रियापछि जिल्ला अदालत बुझाइएको डिएसपी केसीले बताए। उनलाई आइतबार अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। आरोपितहरू विरुद्ध पीडित परिवारले दुई वर्षअघि नै उजुरी दिएको प्रहरीले जनायो।

नियमित र सुक्ष्म अनुसन्धानबाट सफल

घटनापश्चात फरार तीनजनालाई प्रहरीले दुई वर्षपछि पक्राउ गर्न सफल भएको हो। यस अवधिमा चारजना डिएसपी परिवर्तन भइसके। जतिपटक डिएसपी परिवर्तन हुन्छन् त्यतिपटक मृतक परिवारले गरिब र दलितका लागि न्याय रहेनछ भन्दै गुनासो गर्ने गरेपछि आफू आउनासाथ घटनालाई सुक्ष्म ढंगले अनुसन्धान सुरु गरेको डिएसपी केसीले बताए।

घटनापश्चात भारतको दार्जिलिङ पुगेका तीनैजना नेपाल आएको मौका छोपी पक्राउ गर्न सफल भएको उनले बताए। सुराकीका आधारमा दुई वर्षपछि उनीहरूमध्ये सुजन कार्की आएको सुराकीका आधारमा पत्ता लागेपछि कटारीमा उनलाई पक्राउपश्चात नैनबहादुर र युवराजलाई काठमाडौंको कपनमा विश्वकर्माको घरबाट पक्राउ गरिएको डिएसपी केसीले बताए।

खोजतलासको क्रममा पुगेको प्रहरीको टोलीलाई छल्दै आफू उदयपुरको नभएको बताएपछि प्रहरीले फोटोको सहायताबाट पक्राउ गर्न सफल भएको उनले बताए। पक्राउ गर्न इलाका प्रहरी कार्यालय कटारीबाटै प्रहरी खटाइएको थियो। नौ महिनाअघि कटारीको जिम्मेवारी सम्हालेका डिएसपी केसीले जिम्मेवारी सम्हालेका थिए।

संगीता र युवराजको सम्बन्ध

दुई वर्षअघि टेलिफोन सम्वादकै भरमा उदयपुरको उदयपुरगढी गाउँपालिका ५ बाहुनीटारकी १७ वर्षीया संगीता विश्वकर्मा र कटारी नगरपालिका ४ सिम्लेका युवराज कार्कीको प्रेम सम्बन्ध भयो। टेलिफोन वार्तालाप भइरहँदा संगीताले मगर थर रहेको बताइन्। लामो समय सम्वाद चलेपछि संगीताले भागी विवाहको प्रस्ताव गरिन्। प्रेमिकाको प्रस्ताव स्वीकार्दै युवराजले २०७४ असार ३० गते कटारीमा आउनु काठमाडौं जानुपर्छ भन्दै बोलाए। उनी असार २९ गते घरमा कसैलाई थाहा नदिई बेपत्ता भइन्।

काठमाडौंको गाडीमा चढेपछि संगीताले घरमा फोन गर्दै ‘मलाई नखोज्नू म विवाह गरेर काठमाडौं पुगें’ भनिन्। टेलिफोन सम्वादकै क्रममा युवराजले उनी विश्वकर्मा थरकी छोरी हुन् भन्ने पत्तो लगाए। युवराजमा कौतुहलता पैदा भयो। काठमाडौं पुगेर केही दिन बसेपछि युवराजले संगीतालाई घरमा पठाउने निधो गरे। ‘दुई÷चार दिनमा आउँछु, घर गएर बस्दै गर्नू’ भनेर उनले जिल्ला पठाए। उनी घर आइन्।

घरका सदस्यले छोरा नआएसम्म नस्वीकार्ने बताए। भोलिपल्ट युवराज आएपछि घर भित्रिइन् संगीता। परिवारका सदस्यले दलितकी छोरी भन्ने थाहा पाए। त्यसपछि घरभित्रै हत्या गर्ने षडयन्त्र रच्दै उपयुक्त समयको खोजी गरी हत्या गरेको युवराजका भाइ सुजनले प्रहरीसँग बयान दिए।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया