Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

एजेन्सी, २१ पुस । डढेलोका कारण गम्भीर संकटको सामना गरिरहेको अस्ट्रेलियामा पानी परेको छ । अस्ट्रेलियाको सिड्नी, मेलबर्नसहितका पूर्वी तटीय क्षेत्रमा वर्षा भएको हो । वर्षाले केही राहत दिएको छ भने लगातार बढेको तापक्रम पनि केही घटेको छ ।

तीव्र गतिको हावा र बढ्दो तापक्रमका कारण गएको सेप्टेम्बरदेखि फैलिएको डढेलोले अस्ट्रेलियामा विकराल रुप लिएको छ । आइतबार तथा सोमबार परेको पानीले त्यसमा केही राहत दिए पनि यही वर्षाले मात्र डढेलो नियन्त्रणमा नआउने सरकारी अधिकारीहरू बताउछन् ।

‘अहिले परेको पानीका कारण सन्तुष्ट हुन मिल्ने ठाउँ छैन,’ न्यू साउथ वेल्सका स्टेट प्रिमियर ग्लेडिस बेरेजिक्लियनले सोमबार बिहान भनिन् । डढेलोका कारण आफ्नो घर छोड्न बाध्य जनतालाई सरकारी अधिकारीले लगातार खाना आपूर्ति गरिरहेका छन् ।

यस हप्ता डढेलोका कारण थप सयौं सम्पत्ति विनास भएका छन् । यद्यपि, सोमबारदेखि मौसम परिवर्तन भएसँगै डढेलो प्रभावित क्षेत्रबाट कुनै आपतकालीन चेतावनी आएका छैनन् ।

५० करोड जनावर र पंक्षीहरुको मृत्यु

गत सेप्टेम्बरदेखि अष्ट्रेलियाको जंगलमा लागेको डढेलोले करिब ५० करोड जनावर र पंक्षीहरुको मृत्यु भइसकेको छ । यसमा स्तनधारी पशुपंक्षीका साथै घस्रने जनावर पनि समावेश छन् ।

चार महिनासम्म पनि अष्ट्रेलियाको जंगलमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । यो डढेलो अष्ट्रेलियाको भिक्टोरिया र न्यू साउथ वेल्सको तटीय इलाकामा सबैभन्दा धेरै फैलिएको छ ।

आगलागीका कारण हावा र विषालु धुँवाका कारण पूर्वी तटमा रहेको इलाकामा जीवनयापन निकै मुश्किल भएको छ । मानिसहरु घर छोडेर भागिरहेका छन् । मृतकको संख्या लगातार बढिरहेको छ । अष्ट्रेलिया सरकारले थुप्रै इलाकामा संकटकालको घोषणा गरेको छ ।

भिक्टोरियाको स्थिती थप भयानक छ । शनिबार तीब्र गतिको हावाका कारण आगो थप फैलिएको छ । बढ्दो तापक्रमका कारण अग्नी नियन्त्रणमा खटेका समूहले ठूलो समस्या व्यवहोर्नुपरेको छ । थुप्रै स्थानमा तापक्रम ४५ देखि ४७ डिग्रीसम्म पुगेको छ ।

मौसम विभागका अनुसार हावाले थप आगो फैलाइरहेको छ । यसबाट आउने धुँवाले उद्दारकार्यमा बाधा पुर्याइरहेको छ । आगोका कारण हज्जारौं मानिसहरु घर शहर छोडेर शरणार्थीको रुपमा बस्न बाध्य छन् ।

न्यू साउथ वेल्सको मध्य–उत्तरी इलाकामा सबैभन्दा धेरै जनावरको बसोबास छ । तर जंगलमा लागेको आगोका कारण उनीहरुको जनसंख्यामा भारी गिरावट आएको छ ।

आगोले २ सय बढी घरमा पनि क्षती पुगेको छ । थुप्रै मानिसहरु अहिले पनि आगोबाट प्रभावित क्षेत्रमा बसिरहेका छन् । उक्त डढेलोले अहिलेसम्म १८ जनाको ज्यान लिइसकिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया