Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

दमक,१६ पुस । झापाको कमल गाँउपालिका-५ स्थित चुलोङ टोलमा बुधबार स्थानीय ७ जना ज्येष्ठहरुलाई सम्मान गरिएको छ । इमानसिंह चेम्जोङ्ग स्मृति प्रतिष्ठान कमल-५ ले आज इतिहासकार स्व. इमानसिंह चेम्जोङको ११७ औ जन्मजयन्तीका अवसर पारेर ८० वर्ष माथिका तीन महिलासहित ७ जनालाई दिर्घायुको कामना गर्दे सम्मान गरिएको प्रतिष्ठानका सचिव उमेश तुम्रोकले जानकारी दिए ।

कमल-५ का वडाध्यक्ष डम्बरवहादुर निरौलाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा ८८ बर्षिय कुमार चेम्जोङ ,८६ बर्षिय छविलाल सम्बाहाम्फे,८४ बर्षिय पूर्णकुमार तुम्रोक,८७ बर्षिया रनमाया सम्बाहाम्फे,८६ बर्षिया नरमाया चोङबाङ्ग,८४ बर्षिय गबान सम्बाहाम्फे र ८२ बर्षिया फूलमाया माङमुलाई नगद तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो । ज्येष्ठलाई नगद जनही रु ५ सय भने स्थानीय युवा आइतहाङ सम्बाहाम्फेले उपलव्ध गराएका थिए ।

कार्यक्रममा वक्ताहरुले इतिहासकार स्व.चेम्जोङ्गको भाषा,लिपी लगायतका क्षेत्रमा पुरयाँएको योगदानका बारेमा चर्चा गरेका थिए । प्रमुख अतिथि वडाध्यक्ष निरौला, थाकथाकु माबोहाङ चेम्जोङ्ग वंश उत्थान संघका केन्द्रीय महासचिव जितेन्द्र राज चेम्जोङ्गले स्व. चेम्जोङ्गको योगदान कुनै जाति,समुदाय विशेषको नहुने भन्दै राज्यले उतिकै सम्मान गर्नुपर्ने औल्याए । त्यस्तै प्रतिठानका अध्यक्ष वीरवहादुर चेम्जोङ्गले इतिहासकार स्व. इमानसिंहको जीवनीमाथि प्रकाश पार्नुका साथै प्रतिष्ठानको भावी कार्ययोजना प्रस्तुत गरेका थिए ।

१ जनवरी १९०४ मा जन्मिएका इमानसिंहको १९७८ अक्टोवर ८ मा भारतको दार्जिलिङ्गमा निधन भएको थियो । पाँचथरको वसागुबाट कालेम्पोङको रिङकेबुङ बसाइँ गएका मेघवरसिंह र दावापुहाङ्मा चेम्जोङका सन्तान उनले लिम्बू जातिका मुन्धुम (सामाजिक इतिहास ), इतिहास, भाषा, संस्कृति र संस्कार र दर्शन सम्बन्धी १४ वटा पुस्तक प्रकाशनमा ल्याएका थिए ।

त्यस्तै २०५५ सालमा तत्कालीन सरकारले चेम्जोङको तस्वीर अंकित हुलाक टिकट प्रकाशनमा ल्याउनुका साथै उनको जीवनी कक्षा १० को नेपाली पुस्तकमा समावेश गरिएको थियो ।

तपाईको प्रतिक्रिया