Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

विराटनगर, ९ पुष । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारी स्वास्थ्य संस्थाहरुमा देखिएको बेथिति हटाउन सरकार क्रियाशील रहेको बताएका छन् ।

‘स्वस्थ नागरिक समृद्ध प्रदेश’ भन्ने नारासहित शुरु गरिएको स्वस्थ जीवन प्रवद्र्धन अभियानको उद्घाटन गर्दै मन्त्री ढकालले स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न स्थानीय, प्रदेश र संघीय सरकारले एकीकृत प्रयास गर्नुपर्ने बताए । नागरिकहरुको जीवन शैलीमा परिवर्तन ल्याएर स्वस्थ नागरिक बनाउने उद्देश्यले प्रदेश नं.१ मा स्वस्थ जीवन प्रवद्धन अभियान शुरु गरिएको हो ।

यो अभियान अन्तर्गत सुर्तिजन्य पदार्थहरुको विक्री वितरण र सेवनलाई निषेधित गर्दै लैजाने र प्रदेशभरीका शिक्षण संस्थाहरुमा जंक फुड पूर्ण प्रतिबन्ध लगाइने भएको छ । स्थानीय तहको सहयोगमा सञ्चालन गरिने यो अभियानमा स्वास्थ्य वीमा कार्यक्रमलाई शतप्रतिशत लागू गराउन जनप्रतिनिधिहरुलाई सक्रियताका साथ परिचालन गरिने बताइएको छ ।

अभियान बारे जानकारी दिदै प्रदेश नं.१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वस्थ नागरिकका लागि चाहिने आधारभूत मान्यताहरुलाई समेटिने गरी प्रदेश नं.१ मा स्वास्थ्य ऐन ल्याउन लागिएको बताए । पछिल्लो समय नागरिकहरुको जीवनशैलीका कारण नसर्ने रोगहरुका कारण मृत्यु दर बढेको र खानपानमा आएको परिवर्तनले स्वास्थ्यमा समस्या देखिएकोले प्रदेश नं.१ को सामाजिक विकास मन्त्रालयले यो अभियान शुरु गरेको हो ।

अभियान उद्घाटन कार्यक्रममा प्रदेश नं.१ का १४ जिल्लाका स्थानीय तहका प्रमुख उपप्रमुख, विभिन्न अस्पतालका प्रमुखहरु र राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको छ । उनीहरुलाई अभियानको कार्ययोजना र स्थानीय तहको जिम्मेवारी बारे जानकारी गराइएको थियो ।न्युज२४

तपाईको प्रतिक्रिया