Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, ५ पुष । मन्त्रिपरिषदले कार्यविधि अड्काएर राखेपछि कृषि तथा पशुपन्छी विकासमा सरकारले वितरण गर्ने अनुदान ठप्प भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आफ्नो मातहतको अनुदान वितरणलाई प्रभावकारी बनाउन मस्यौदा गरेको एकीकृत छाता कार्यविधि पाँच महिनादेखि मन्त्रिपरिषदले रोकेर राखेको हो ।

सरकारी अनुदान व्यवस्थित गर्ने अर्थमन्त्रालयको निर्देशनपछि तत्कालीन कृषिमन्त्री चक्रपाणी खनालले ‘कृषि व्यवसाय प्रवर्द्धनका लागि अनुदान प्रदान गर्ने कार्यविधि २०७६’ को तयारी गरेका थिए । अर्थ र कानून मन्त्रालयको आवश्यक रायपछि २०७६ साउन ८ गते कार्यविधि मन्त्रिपरिषदमा पेश गरेको मन्त्रालयले जनाएको छ ।

‘कार्यविधिलाई टेकेर अनुदान वितरण गर्न कुरेर बसेका छौं, तर मन्त्रिपरिषदले स्वीकृत पनि गर्दैन, अस्वीकृत पनि गर्दैन,’ मन्त्रालयका एक अधिकारीले भने ।

अघिल्ला वर्षहरुमा अनुदान वितरण गर्न यतिबेला निवेदन गरेर छनोट प्रक्रिया सुरु भइसक्थ्यो । तर यसपालि आर्थिक वर्षको ६ महिना बित्दा कार्यविधि अभावले कुनै प्रक्रिया अघि बढेको छैन ।

मन्त्रिपरिषदकै कारण अनुदान वितरण प्रक्रिया ठप्प हुँदा चालु खर्चको अवस्था पनि कमजोर बनेको मन्त्रालयले जनाएको छ । किसानले अनुदान नपाउने र मन्त्रालयमा बजेट प्रिmज हुने अवस्था देखापरेको गुनासो मन्त्रालयका अधिकारीहरुले गरेका छन् । अन्य मन्त्रालयको तुलनामा चालु खर्च निराशाजनक रहेको भन्दै कृषि मन्त्रालयको आलोचना मन्त्रिपरिषदमै हुने गरेको तर आफैंले कार्यविधि अड्काएर काम रोकेको कुरा गौण बनाइएको एक अधिकारीले बताए ।अनलाइनखबर

तपाईको प्रतिक्रिया