विराटनगर, २६ असार । ढुवानी व्यवसायीलाई भ्याटमा दर्ता गरी साउन १ देखि वेबमा आधारित भीसीटीएस प्रणाली लागू गर्ने सरकारको निर्णयको विरोध गर्दै ढुवानी व्यवसायी आन्दोलित बनेका छन्। नेपालको व्यापार र ढुवानी व्यवसायको अवस्था नबुझी सरकारले जटिल प्रकारका नियम लादेको आरोप लगाउँदै व्यवसायीले साउनदेखि देशभर ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन्।
ट्रान्सपोर्ट एसोसिएसन मोरङका अध्यक्ष नरबहादुर भण्डारीले नयाँ व्यवस्था जटिल र अव्यावहारिक भएको भन्दै स्वतःस्फुर्त रूपमा ढुवानी ठप्प पार्न लागेको बताए। ‘सरकारले व्यवसाय र व्यवसायीले भोग्नुपरेको दुःख र समस्या हेर्दैन, नेपालमा यो लागू गर्नु पहिला अन्य समस्या समाधान गर्नुपर्नेमा सिधै निर्णय गरेको छ, यसले कसैलाई फाइदा गर्दैन’, भण्डारीले भने।
ढुवानी बन्द गर्न कुनै संगठनले आह्वान नगरे पनि यो निर्णयले सबै व्यवसायीलाई असर गर्ने भएकाले स्वतःस्फुर्त विरोधमा जुटेको भण्डारीको दाबी छ। ‘व्यवसायीले कुनै बैंक वा फाइनान्स कम्पनीको स्वामित्वमा रहेका ट्रकलाई मालसामान लोड गराएर पठाएको हुन्छ, त्यो ट्रकधनीले एक महिनाभित्र आन्तरिक राजस्वमा फरफारक गरेन भने मिस म्याच हुन्छ। एक महिना ट्रक धनी बेपत्ता भयो भने यस्तो नियमले ढुवानी व्यवसायी समस्यामा पर्छन्, त्यसैले हामीले विरोध गरेका हौं’, उनले भने।
ढुवानी व्यवसायीको कारखाना र उत्पादन नहुने, वितरक, डिलर र होलसेलर पनि नहुने भएकाले यस्तो व्यवसायलाई भ्याटको दायरामा ल्याउनु नेपालमा हालको समय अनुकूल नरहेको ढुवानी व्यवसायीको तर्क छ। इन्टरनेटको दुरावस्था, दक्ष जनशक्तिको अभाव र नेपालको दुर्गम तथा अविकसित अवस्थाका कारण वेबमा आधारित भीसीटीएस सफल हुन नसक्ने उनीहरूको दाबी छ।
ट्रक व्यवसायी संघ विराटनगरका अध्यक्ष मेघराज सिग्देलले भीसीटीएस र भ्याट दर्ताले स्वरोजगारको अवस्था समाप्त बनाएको बताउँदै निर्णय नसच्याए साउन १ देखि नै देशभर ट्रकबाट ढुवानी बन्द गर्ने बताए। ढुवानी व्यवसायमा सबैभन्दा बढी इन्धनमा खर्च हुने, इन्धनमा लाग्ने मूल्य अभिवृद्धिकर फिर्ता नपाउने नियम बनाइएकाले ढुवानी लागत अझ बढ्ने र यसले बजारमा महँगी बढाउने उनको तर्क छ। ढुवानी व्यवसायीका अनुसार देशभर ५५ हजारको संख्यामा ट्रक व्यवसायी छन्। साउन १ देखि ढुवानी बन्द गर्ने उनीहरूको भनाइ छ।अन्नपूर्णपोष्ट






