Online Bichar
शनिबार, बैशाख २२, २०८१ | Saturday, May 4, 2024

झापा, १० असार  ।  झापामा जनता आवास कार्यक्रम आइतबारदेखि सुरू भएको छ। १५ वटै स्थानीय तहमा एकसाथ जनता आवास कार्यक्रमका घरहरू निर्माण सुरू भएका हुन्।

संघीय सरकारले प्रदेश सरकारलाई जनता आवास कार्यक्रमका लागि दिएको सशर्त अनुदानबाट घर निर्माण सुरू गरिएको झापा निर्वाचन क्षेत्र नम्बर ४ का सांसद झलकबहादुर दर्लामी मगरले बताए। उनका अनुसार एउटा घर निर्माणका लागि सरकारले कररहित ३ लाख ३२ हजार ५ सय दिएको छ। उक्त रकमबाट सरकारले १७ हजार ५ सय कर असुल्ने छ।

निर्वाचित प्रदेश सांसदको संयोजकत्वमा सहायक प्रमुुख जिल्ला अधिकारी र स्थानीय तहका प्रमुख प्रसाशकीय अधिकृत सदस्य रहेको घर निर्माण समिमिा सदस्य सचिव सहरी विकास कार्यालय इलामका प्रमुख व्यवस्था बनाइएको छ। वडा कार्यलय, नगर वा गाउँपालिकाबाट आएको सुझावको आधारमा सरकारले सुचीकृत गरेको सीमान्तकृत जातिलाई जनता आवास कार्यक्रममार्फत घर निर्माण गर्ने प्रदेश सांसद मगरले बताए।

सांसद मगरको निर्वाचन क्षेत्रमा ५५ वटा घर निर्माण हुने भएका छन् भने झापा निर्वाचन क्षेत्र नम्बर ४ (ख) हिरा थापाको निर्वाचन क्षेत्रमा ८ वटा घर निर्माण हुने भएका छन्। दुई वटा कोठा एक वटा भान्सा कोठासहित बरण्डा भएको घर निर्माण हुने प्रदेश सांसदले बताए।

मगरका अनुसार शिवसताक्षी नगरपालिकाकामा ३३ वटा, गौरादह नगरपालिका वडा नम्बर ५ मा ५ वटा, गौरीगञ्ज वडा नम्बर २ मा ६ वटा र सोही गाँउपालिकाको वडा नम्बर १ मा ६ वटा घर निर्माण हुनेछन्।

आफैंले जोतभोग गरेको जग्गामा सरकारले जनता आवास कार्यक्रम अन्तर्गतका घर निर्माण गर्न लागेको हो। शिवसताक्षी नगरपालिकाको ११ नम्बर वडामा रणबहादुर सुन्दार र तारादेवी दर्जीको साउनमा जनता आवास कार्यक्रमबाट घर पाउने भएका छन्। यस्तै, वडा नम्वर ८ बाट गोविन्द ऋषिदेव, पदमबहादुर विक, बुद्धिमान विकले घर पाउने मगरले बताए।

यता गौरीगञ्ज गाँउपालिकाकी रामुदेवी चमेनाले पनि घर पाउने भएकी छन्। आफ्नै जग्गा भए पनि वर्सेनि आउने बाढीले बगाएर आफन्तकोमा बस्दै आएकी चमेनाले अब आफ्नै घरमा बस्न पाउने भएकी छन्।

गौरादहकी मुना कर्माकार पनि आफ्नो घर नहुँदा छिमेकी र आफन्तकोमा बस्दै आएकी थिइन्। उनले पनि घर पाउने भएकी छन्।

यस्तै, जनता आवास कार्यक्रम अन्तर्गत प्रदेश सरकारले पनि झापाका १५ वटै स्थानीय तहमा ५–५ वटा घर बनाइदिने भएको छ। यो सँगै झापामा ४ सय ७७ घर निर्माण हुनेछन्। झापामा असारभित्रै निर्माण सम्पन्न हुने गरी सरकारले जनता आवास कार्यक्रमको लागि १६ करोड ६९ लाख ५० हजार खर्च गर्नेछ।

यसैबीच, प्रदेश सांसद झलकबहादुर दर्लामी मगरले शिवसताक्षी नगरका सुकुमबासीलाई जग्गासहित घर निर्माण गरी एकीकृत बस्ती निर्माण गर्ने बचन दिएका छन्। शिवसताक्षी नगरपालिका वडा नम्बर ११ बच्चाबगरका रमेश मिश्रले निःशुल्क दिएको एक विगाह जग्गा क्षेत्रमा एकीकृत बस्ती निर्माण गर्न लागेको सांसद मगरले बताए।सेतोपाटी

तपाईको प्रतिक्रिया