Online Bichar
शनिबार, मंसिर ०६, २०८३ | Saturday, November 21, 2026

झगेन्द्र खड्का
गौरादह, ७  असार  ।   गौरादह नगरबासीहरुले नगरको बजेट विनियोजन गर्दा भूगोल र जनसंख्यालाई आधार मानि बजेट विनियोजन गर्न सुझाव दिएका छन् । गौरादह नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को निति कार्यक्रम तथा बजेट तर्जुमा पूर्व तयारी गर्न शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नगरबासीहरुले नगरको समग्र विकासका लागि जातजाति, भाषाभाषि, धर्म संस्कृतिको संरक्षण गर्दै क्षेत्रफललाई आधार मानि विकास निर्माणमा पछाडी परेका वडाहरुलाई समेट्न सकिने गरि बजेट विनियोजन गर्न माग गरेका छन् ।

गौरादह नगरपालिकाका प्रमुख रोहित कुमार शाहले नगरभित्र रहेका नगरबासीहरुको भावनालाई समेट्ने गरि बजेट विनियोजन गर्न नगरबासीहरुको धारणा आवश्यक रहेकाले अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको बताए । जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि नगरको बजेटले धान्न सक्ने गरि विकास निर्माणको काम सञ्चालन भइरहेको बताउँदै आगामी वर्षको विनियोजिन बजेटले अधुरा काम सम्पन्न गर्ने बताए ।

अन्तरक्रिया कार्यक्रममा आ–आफ्ना धारणा राख्दै नगरबासीहरुले नगरभित्र सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युतको क्षेत्रमा भएका समस्याको बारेमा जानकारी गराउँदै कृषि क्षेत्रमा आधुनिकिकरण गर्ने भनिएता पनि किसानहरुले कुनै प्रकारको राहत नपाएको गुनासो गरे । खेती गर्ने समयमा मल बीउको हाहाकार हुनुको साथै बिक्रि गर्ने समयमा उचित मूल्य नपाउनु बिडम्बना भएको बताएका थिए ।

नेकपा का गौरादह नगर अध्यक्ष मित्रदेव काफ्लेले नगरको निति कार्यक्रम र बजेट तर्जुमा गर्दा विज्ञहरु सँग सल्लाह लिई दुरदराजका नागरिकहरुलाई सम्बोधन गर्न सक्ने बजेट विनियोजन गर्न सुझाव दिए ।

खानेपानी संस्थाका सचिव डण्डीराज घिमिरले नगरपालिका सुचनामैत्रि हुनुपर्ने जानकारी गराउँदै नगरबासीहरुलाई शुद्ध खानेपानीको व्यवस्था गर्न व्यवस्थीत ल्याब राखिनुपर्ने धारणा राखे ।

तुलसी राजवंशीले आदिवासी जनजातिहरुको धार्मिक, सांस्कृतिक सम्पदाको संरक्षण गर्न निति तथा कार्यक्रममा समेटिनु पर्ने धारणा राखे । गौरादह ९ का बाबुराम बस्नेतले ५ लाख भन्दा माथिको विकास निर्माणको काम गर्दा ठेक्का बाट गरिने भनिएपनि व्यवहारमा लागू नभएको धारणा राखे ।

गौरादह ७ का सुर्यभक्त सिटौलाले प्रधानमन्त्रि तथा अर्थमन्त्रिको क्षेत्रमा विकासले गति लिन नसकेको तर्क गर्दै संस्थागत र सामुदायिक विद्यालय बिचको खाडललाई अन्त्य गर्न माग गरे । कार्यक्रममा सन्तोष कुमार ताजपुरीया, नगेन्द्र घिमिरे भोला चक्रवर्ती, चाणक राउत लगायतले आ–आफना धारणा राखेका थिए ।

कार्यक्रम का प्रमुख अतिथि संविधान सभासदस्य दिपक कार्कीले गौरादहलाई समृद्ध नगर बनाउन विकासका लागि विनियोजित गरिएको बजेटलाई सहि सदुपयोग गर्न सबैले सहयोग गर्नुपर्ने धारणा राखे । त्यसका लागि जनप्रतिनिधि र कर्मचारीहरु उक्तरदायी हुनुपर्ने धारणा राखे । कार्यक्रममा उपमेयर गीता भेट्वाल, प्रशासकीय अधिकृत सागर मिश्र लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments