Online Bichar
शनिबार, बैशाख २२, २०८१ | Saturday, May 4, 2024

विराटनगर, ६  असार  ।   मोरङमा एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगुको संक्रमण फैलँदै गएको छ। विज्ञले मोरङमा देखिएको डेंगु आयातित भएको बताएका छन्। सुनसरीको धरानमा महामारीको रूपमा फैलिएपछि उतैबाट मोरङमा पनि डेंगु भित्रिएको र आयातित भएका कारण नियन्त्रणमा केही कठिनाइ भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले दिए।

एक साता अवधिमा मोरङमा डेंगु संक्रमितको संख्या २० पुगेको छ। साताअघि ५ जना मात्रै संक्रमित थिए। विराटनगर महानगरपालिकामा ५, उर्लाबारी नगरपालिकामा ५, सुन्दरहरैंचा नगरपालिकामा ४, बेलबारीमा १, केराबारी गाउँपालिकामा ३, मिक्लाजुङमा १ र ग्रामथान गाउँपालिकामा १ जनामा संक्रमण देखिएको छ।

उनका अनुसार संक्रमितको विराटनगरकै नोबेल शिक्षण, सञ्जिवनी, कोसी र विराटनगर अस्पतालमा उपचार भइरहेको छ। सबै भन्दाबढी नोबेलमा ८ जनाको उपचार भइरहेको छ। संक्रमितमध्ये एकजना ४ वर्षीय बालक छन्। अन्य संक्रमित २२ देखि ३५ वर्ष उमेर समूहका छन्।

‘धरानबाट मोरङमा संक्रमण भित्रिएको पाइयो’, बस्नेतले भने, ‘धरान पुगेर फर्किएकामा यसको संक्रमण देखिएका कारण मोरङमा देखिएको डेंगु आयातित हो।’ उनले धरान पुगेर फर्किएका व्यक्तिहरू बिरामी भएपछि उपचार र स्वास्थ्य परीक्षणका लागि अस्पताल पुग्दा डेंगुको संक्रमण देखिएको बताए। ‘सबै जसो संक्रमित धरान पुगेर आएपछि बिरामी भएको पुष्टि भयो’, उनले भने।

‘विभिन्न जनचेतनामूलक कार्यक्रम र माइकिङ गरिरहेका छौं’, उनले भने, ‘सर्च एण्ड डिस्ट्रोए ९खोज र नष्ट गर० अभियान सञ्चालन गरिएको छ।’ उनले सामान्य ढंगबाट होसियारी अपनाउँदा मात्रै पनि यसको संक्रमणबाट बच्न सकिने बताए। मोरङका १७ वटै स्थानीय तहमा सरसफाई अभियान सञ्चालन गर्दै लामखुट्टे मार्ने र त्यसको लार्भा नष्ट गर्न औषधि छर्कने काम भइरहेको छ।

विशेष गरी सफा पानीमा बसेर दिउँसो मात्रै लामखुट्टेले टोक्दा डेंगुको संक्रमण हुने भएपछि सरसफाईमा ध्यान दिन सबै नगरवासीलाई आग्रह गरिएको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए। ‘लामखुट्टे र त्यसका लार्भा नष्ट गर्ने औषधि सबै वडामा छर्कन प्राथमिकता दिइएको छ’, उनले भने, ‘मालाथिन फगिङ स्प्रे गर्ने काम भइरहेका छ।’ ४० प्रतिशत मालाथिन र ६० प्रतिशत डिजेल मिसाएर सबै वडामा छर्कने काम भइरहेको सुवेदीले बताए।

लामखुट्टेको लार्भा मार्नका लागि जमेको पानी नष्ट गर्ने र त्यस्ता पानीमा डढेको मोविल वा डिजेल हालिदिने काम पनि भइरहेको उर्लाबारी नगरपालिकाका मेयर खड्गबहादुर फागोले बताए।

डेंगु सक्रमित लामखुट्टेले दिउँसो मात्रै टोक्ने गर्छ। नगर प्रमुख फागोले मोटरसाइकल ग्यारेज, होटल, पसल, सार्वजनिक ठाउँ र पसललगायतमा टोलीले सचेतना फैल्याउने र सरसफाई गर्ने काममा विभिन्न स्थानीय तहबाट विशेष टोली परिचालन गरिएको बताए। स्वास्थ्यकर्मीलाई उदृत गर्दै उनले दिएको जानकारी अनुसार सफा पानी जमेको स्थानमा संक्रमण फैल्याउने लामखुट्टेले फुल पार्ने भएकाले फ्रिज, पूजाका सामग्री, पुराना टायर, गमला र पानीका ट्यांकीको सफाइमा ध्यान दिइनु पर्छ।

दाजुभाइलाई डेंगु

सप्तरीमा डेंगु संक्रमित बिरामी फेला परेका छन्। कञ्चनरूप नगरपालिका— ६ जमुवाका ३२ वर्षीय देवकान्त चौधरी र उनका भाइ २७ वर्षीय रमाकान्त चौधरीमा डेंगु रोगको संक्रमण देखिएको कञ्चनरूप नगरपालिकाले जनाएको छ।

डेंगुको संक्रमण देखिए पछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका देवकान्तका भाइ रमाकान्तको रगत परीक्षण गर्दा उनमा समेत डेंगु फेला परेको कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। दुबै दाजुभाई धरानमा मजदुरी गर्छन्।

कञ्चनरुप नगरपालिकाको स्वास्थ्यकर्मीको टोलीले बिहीबार वडाको जमुवा टोलमा गई ज्वरो आएका अन्य ६ जनाको रगत परीक्षण गर्दा उनीहरूमा डेंगुको संक्रमण नदेखिएको कञ्चनरूप नगरपालिकाका स्वास्थ्य शाखा संयोजक डम्बरप्रसाद गुप्ताले जानकारी दिए।

डेंगु संक्रमित देवकान्तका भाइ रमाकान्तलाई बिहीबार नै कोशी अञ्चल अस्पताल विराटनगरमा भर्ना गरिएको छ। अन्य व्यक्तिमा डेंगुको लक्षण नदेखिएको र शंकास्पद व्यक्तिको रगत संकलन गरी परीक्षण गरिने कार्य सुरु भएको स्वास्थ्य शाखाका सहसंयोजक सुरेन्द्र यादवले बताए।

कञ्चनरुप नगरपालिकाको स्वास्थ्यकर्मीको टोलीले वडानम्बर ६ को जमुवा टोलमा गई ज्वरो आएकाको चेकजाँच गर्नुका साथै डेंगु रोग फैलिन नदिन नगरपालिकाले जनचेतनामूलक कार्यक्रम सुरु गरेको जनाएको छ। नगर प्रमुख बसन्त मि श्रले स्थानीय एफएम रेडियोबाट सचेतनामूलक सन्देश प्रसारण गरी नगरवासीमा सचेत हुन आग्रह गर्ने र लार्भा नष्ट गर्ने अभियान सुरु भएको बताए।

स्वास्थ्य शाखा संयोजक गुप्ताका अनुसार नगरपालिकासँग डेंगु परीक्षण गर्ने किटको अभाव छ। सरुवा रोग तथा महामारी नियन्त्रण महाशाखामा किटको माग गरिएको जानकारी दिँदै गुप्ताले किट उपलब्ध भएपछि चेकजाँचलाई तिव्रता दिने बताए।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया