Online Bichar
आइतबार, बैशाख २३, २०८१ | Sunday, May 5, 2024

काठमाडौं, ६ जेठ ।  सरकारले सदनमा दर्ता गराएको मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधानप्रति आपत्ति जनाउँदै आन्दोलनमा उत्रिएको नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । यही जेठ ३ गते शुक्रबारसम्म पहिलो चरणको आन्दोलन गरेको थियो ।

उक्त पहिलो चरणको आन्दोलन सकिँदा पनि सरकारले माग संबोधनमा गम्भीरता नदेखाएको भन्दै आइतबार बसेको महासंघको केन्द्रीय समितिको बैठकले दोस्रो चरणको विरोध कार्यक्रम घोषणा गरेको हो ।

जारी गरेको विज्ञप्तिमा उल्लेख अनुसार जेठ ६ गतेदेखि २५ गतेसम्म आन्दोलन गर्ने महासंघले निर्णय गरेको छ ।

जसअनुसार जेठ ६ र ७ गते महासंघका पूर्वअध्यक्षहरुसँग छलफल र परामर्श गर्ने, जेठ ८ गते संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरुको ध्यानाकर्षण गराउने, जेठ ९ देखि १२ गतेसम्म सञ्चार माध्यमका सम्पादकहरुसँग भेट गरी सञ्चार अभियान सञ्चालन गर्ने, जेठ १३ र १४ गते सांसदहरुसँग छलफल गर्ने महासंघको कार्यक्रम छ ।

त्यस्तै जेठ १६ गते प्रेस स्वतन्त्रता सेनानीसँग छलफल गर्ने, जेठ १८ देखि २० गतेसम्म महासंघको प्रतिष्ठान शाखा, र एसोसिएटहरुको आयोजनामा विधेयकका कारण समाचार कक्षमा पर्ने प्रभावबारे छलफल चलाउने, जेठ २३ र २४ गते राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अभिकारकर्मीसँग अन्तर्क्रिया कार्यक्रम गर्ने महासंघले जनाएको छ ।

महांसघले पहिलो चरणको आन्दोलनमा जेठ ३ गते शुक्रबार काठमाडौंमा संसद वाहिर र जिल्लाहरुमा सदरमुकाममा संचार साधनसहित बृहत प्रदर्शन गरेको थियो ।

महासंघले विधेयक प्रेस स्वतन्त्रता विरोधी छ भनेर सभामुख, राष्ट्रियसभा अध्यक्ष तथा सांसदहरुलाई ध्यानाकर्षण गराउनेदेखि सञ्चारमाध्यमका सम्पादकहरु, विज्ञहरु तथा महासंघका पूर्व पदाधिकारीसँग छलफल गर्ने गरेको थियो । यस्तै राजनीतिक दलका शीर्ष नेतृत्वलाई ध्यानाकर्षण, विधेयकको विरुद्धमा कालो पट्टी बाँधेर काम समेत गरेका थिए ।

पहिलो चरण्को विरोधका कार्यक्रम गर्दा पनि सरकारले विधेयक नसच्चाए पुनः दोस्रो चरणको आन्दोलन गर्ने चेतावनी पनि महासंघले दिएको छ । महासंघले आन्दोलन घोषणा गर्नुअघि पत्रकारका विभिन्न संघसंगठनसँग छलफल गरेको थियो ।

तपाईको प्रतिक्रिया