झापा, १३ मंसिर २०८३ । नेपाली कांग्रेसको जिल्ला अधिवेशन आउन तीन साताभन्दा बढी समय बाँकी रहँदै झापामा जिल्ला सभापति बन्न आधा दर्जनभन्दा धेरै आकांक्षी देखिएका छन् ।
हालसम्म ७ जनाले नेपाली कांग्रेस झापाको सभापति पदमा उम्मेदवारी दिने आकांक्षा व्यक्त गरेका छन् । जिल्ला अधिवेशन नजिकिएपछि त्यो संख्या अझ बढ्न सक्छ ।
हालका जिल्ला सभापति देउकुमार थेबेले आफ्नो कार्यकाल दोहोर्याउने योजना बनाएका छन् । कठिन मोडमा विचलित नभइ एकताका लागि दृढ रहेर पार्टीलाई जोगाएकाले आफ्नो कार्यकाल थप गर्नुपर्ने उनको भनाई रहेको छ । यसअघिका सबै जिल्ला सभापतिहरुले दुई–दुई कार्यकाल चलाएकाले आफूले पनि दोस्रो कार्यकालका लागि जिल्ला सभापति बन्न पाउनु पर्ने उनको तर्क छ । त्यस्तै वर्तमान समितिमा जिल्ला उपसभापति रहेका केशवराज पाण्डे जिल्ला सभापतिमा अपग्रेड हुने दाउमा छन् । थेबे र पाण्डे दुवैजना फागुन २१ को निर्वाचनमा उम्मेदवार बनेका थिए ।
त्यस्तै महाधिवेशन प्रतिनिधि तथा पूर्व जिल्ला सचिव भक्ति सिटौला , महाधिवेशन प्रतिनिधि तथा पूर्व जिल्ला प्रवक्ता लोकराज ढकाल , महाधिवेशन प्रतिनिधि तथा निवर्तमान क्षेत्रीय सभापति खगेन्द्र मैनाली , महाधिवेशन प्रतिनिधि तथा लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय सचिव विश्वदीप लिङ्देन र महाधिवेशन प्रतिनिधि तथा किसान संघका केन्द्रीय सदस्य सीताराम भट्टराईले पनि जिल्ला सभापतिमा उठ्ने आकाक्षा व्यक्त गरेको पार्टी स्रोतले जनाएको छ ।
त्यस्तै उपसभापतिमा पनि ५ जनाले आकांक्षा व्यक्त गरेका छन् भने सचिवका लागि चारजना आकांक्षी देखिएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत जिल्ला तथा प्रदेश अधिवेशनहरूको कार्यतालिका सार्वजनिक गरेको छ। समितिका सदस्य सचिव राजु कटुवालद्वारा आज जारी विज्ञप्तिअनुसार केन्द्रीय कार्यसमितिसँगको समन्वयमा जिल्ला तथा प्रदेश अधिवेशनको मिति तय गरिएको हो।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) बमोजिम केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको चयन भई गत २०८३ असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा १५औँ केन्द्रीय महाधिवेशन सम्पन्न भइसकेको छ। तर त्यतिबेला अधिवेशन नभएका जिल्ला तथा प्रदेशहरूको अधिवेशनको मिति अहिले तय गरिएको निर्वाचन समितिले जनाएको छ ।
समितिले हिमाली र पहाडी जिल्लाहरूको जिल्ला अधिवेशन आगामी मंसिर २४ गतेदेखि २७ गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको छ।
त्यसैगरी, बाँकी रहेका अन्य सबै जिल्लाहरूको अधिवेशन आगामी पुस ४ र ५ गते हुने विज्ञप्तिमा उल्लेख छ। जिल्ला अधिवेशन सम्पन्न भएलगत्तै सातवटै प्रदेशको प्रदेश अधिवेशन आगामी पुस १० गतेदेखि १८ गतेभित्र सम्पन्न गर्ने गरी मिति निर्धारण गरिएको सदस्य सचिव कटुवालले जानकारी दिए।
केन्द्रीय निर्वाचन समितिले सम्बन्धित प्रदेश तथा जिल्लामा खटिएका निर्वाचन अधिकृतहरूलाई सम्बन्धित तहको सभापतिसँगको परामर्शमा निर्वाचनको विस्तृत कार्यतालिका प्रकाशित गरी तोकिएको समयसीमाभित्र अधिवेशन सम्पन्न गर्न–गराउन निर्देशनसमेत दिएको छ।






