काठमाडौं, १३ मंसिर २०८३ । नेपाली कांग्रेसको देउवा पक्षले गरिरहेको १५ औं नियमित महाधिवेशन यही मंसिर २१, २२ र २३ गते काठमाडौंमा हुँदैछ ।
महाधिवेशनको उद्घाटन २१ गते बिहान ११ बजे काठमाडौंको खुलामञ्चमा हुने तय भएको छ । सचिवालय समन्वय समिति संयोजक दीपकप्रसाद कुइँकेलले आइतबार सबै महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गरी पठाएको पत्रमा सो कुरा उल्लेख छ ।
यस्तै, महाधिवेशन प्रतिनिधिको नाम दर्ता भने मंसिर २० गतेबाटै सुरु हुने कुइँकेलले जानकारी दिएका छन् । प्रतिनिधिको दर्ता शुल्क जनही ३ हजार तोकिएको छ ।
महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गर्दा दुई प्रति फोटो, दर्ता सहयोग शुल्क, नेपाल सरकारबाट जारी गरिएको परिचय पत्र र निर्वाचन अधिकृतले प्रदान गरेको महाधिवेशन प्रतिनिधिको प्रमाणपत्रसहित आ–आफ्नो क्षेत्रीय सभापतिमार्फत नाम दर्ता गर्नुपर्ने कुइँकेलले जनाएका छन् । प्रतिनिधिहरूले आवासको व्यवस्था भने आफै मिलाउनुपर्ने उनले जानकारी दिएका छन् ।






