Online Bichar
बिहिबार, मंसिर ११, २०८३ | Thursday, November 26, 2026

काठमाडौं, १० मंसिर २०८३ । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका लागि सरकारसँग भएका सहमति कार्यान्वयन नभए २६औँ सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने प्रा. डा. गोविन्द केसीले चेतावनी दिएका छन् ।

डा।केसीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मंसिर ११ गतेभित्र सहमतिविपरीत गरिएका निर्णय नसच्याए र सहमतिहरू कार्यान्वयन नगरिए पुनः सत्याग्रहमा बस्न बाध्य हुने बताएका हुन् ।

उनका अनुसार चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार, समतामूलक पहुँच, जबाफदेहिता, सुशासन र सामाजिक न्यायका माग राखेर गरिएको २४औँ सत्याग्रहका क्रममा भएका सहमति कार्यान्वयन नभएपछि २५औँ सत्याग्रह गर्नुपरेको थियो । सरकारसँग पुनः सहमति भएपछि उक्त सत्याग्रह स्थगित गरिएको थियो।

तर, पछिल्लो सहमतिअनुसार काम गर्नुको साटो सरकारले जबाफदेहिता र सुशासनसम्बन्धी सहमतिको मर्मविपरीत छानबिन समिति गठन गरेको र त्यसको कार्यक्षेत्रसमेत तोकेको डा। केसीको आरोप छ।

यस विषयमा गल्ती सच्याउन र सहमतिहरू शीघ्र कार्यान्वयन गर्न गरिएको आग्रहलाई सरकारले बेवास्ता गरेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

“स्वास्थ्य, शिक्षा, जबाफदेहिता र सुशासनको नारासहित निर्वाचित सरकारबाटै यिनै विषयमा भएका सहमतिहरू बारम्बार उल्लंघन हुनु अत्यन्तै दुःखद र दुर्भाग्यपूर्ण छ। सहमतिको पालना सरकारको नैतिक तथा राजनैतिक दायित्व हो ।” विज्ञप्तिमा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया