काठमाडौं, १० मंसिर २०८३ । मालपोतको ढड्डामा उल्लेख अभिलेख नै बदलेर एउटाको जग्गा अर्कैका नाममा दर्ता गरेको अभियोगसहित भूमिसुधार तथा मालपोत कार्यालय सर्लाहीका तत्कालीन प्रमुख र वडाध्यक्षसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीका तत्कालीन कार्यालय प्रमुख पनिलाल यादव, त्यति बेलाका नायब सुब्बा टुकराम कोइराला र तत्कालीन खरिदार राजेशकुमार झा, ईश्वरपुर नगरपालिका–१५ का तत्कालीन वडाध्यक्ष कपिलदेव चौधरीविरुद्ध बिहीबार ९मंसिर १०० विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उक्त घटनामा तत्कालीन वडा सचिव राम गुलाम राय, जग्गा प्राप्त गर्ने किशोरी धामी थारू तथा जग्गा प्राप्त गर्न सिफारिस र निवेदन दिने भोला धामी थारू समेत संलग्न रहेको दाबीसहित सजाय माग गरिएको छ । साबिक बलवा सोकनाहा गाविस–२ अन्तर्गत कित्ता नम्बर ६२ को ११ कट्ठा दुई धुर जग्गा फर्जी जग्गाधनी पुर्जा बनाएर बेचबिखन गरिएको अख्तियारको जिकिर छ ।
कर्मचारी र भूमाफियाको मिलेमतोमा बेचबिखन भएको अख्तियारको दाबी छ । स्थानीय रामदेव बैठा र राजदेव बैठाको हकभोगमा रहेको जग्गालाई कुनै हकभोग नरहेका किशोरी धामी थारू र भोला धामी थारूको हकभोग देखाएर सरकारी अभिलेख नै परिवर्तन गरिएको अख्तियारको ठहर छ ।
आपसी मिलेमतोमा वास्तविक विवरण लुकाई किशोरी धामी थारूका नाममा दाखिल खारेज गरिएको अभियोगपत्रमा उल्लेख छ । गलत लिखत तयार पार्दै सरकारी कागजातमा अनधिकृत रूपमा हेरफेर र थपघट गरी वास्तविक जग्गाधनी रामदेव र राजदेवलाई हानिनोक्सानी पुर्याइएको अभियोग छ । उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद तथा जरिवाना गर्न अख्तियारले मागदाबी गरेको छ ।






