काठमाडौं, ५ मंसिर २०८३ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक र अलोकतान्त्रिक रहेको आरोप लगाएका छन् । एमालेको जनवर्गीय संगठन नेसनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा शनिबार ९मंसिर ५० काठमाडौंमा आयोजित कार्यक्रममा उनले वर्तमान सरकारको गठन आतंक, आगजनी र तोडफोडबाट भएको आरोप लगाएका हुन् ।
“अहिलेको सरकार बन्ने सिलसिला असंवैधानिक, अलोकतान्त्रिक, आतंकपूर्ण, आगजनी, तोडफोड त्यसबाट सुरु भएको हो,” उनले भने ।
उनले अहिले देशमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक विधि कमजोर पारिएको बताए । उनले राष्ट्रपति रामचन्द्र पौडेलले डराएर असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेको आरोप पनि लगाए । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परे पनि समयमै फैसला नगरिएको उनको भनाइ छ ।
कार्यक्रममा केपी ओलीको भनाइ पढ्नोस्–
डरपोक राष्ट्रपतिले, सम्माननीय हुनुहुन्छ, भन्न त भएन । सम्माननीय राष्ट्रपतिले डरपोक भएर प्रतिनिधिसभाको असंवैधानिक विघटन गर्नुभयो । त्यो सही कुरा हो, साँचो कुरा हो । र, बडो जुक्ति लगाएर लोकतन्त्र जोगाएँ भन्नुभयो । अनि, असंवैधानिक ढंगले संसद् विघटन गरेर लोकतन्त्र जोगिन्छ रु मैले भन्ने गरेको छु– सम्मानित सर्वोच्च अदालतले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन भयो भनेर हामीले मुद्दा हालेपछि ठिक छ, हराउनुस् । हराउनुस् ठिक छ, अन्याय गर्नुस्, ठिक छ, तर फैसला त गर्नुस् । फैसला नगरीकन उहाँहरू चुप लागेर बस्नुभयो । उहाँहरूको अपमान गरेको होइन, उहाँहरूप्रति अत्यन्त सम्मानका साथ म भन्छु । तर, ब्रह्मले देखेको फैसला भन्छन् नि, उहाँहरूको मनले असंवैधानिक ढंगले विघटन गर्नु ठिकै छ भन्ने लाग्थ्यो भने त्यही भन्दिए भइहाल्थ्यो नि । तर, उहाँहरूले फैसला नै नगरेर बस्नुभयो । त्यस्तो गर्नु हुँदैनथ्यो । अहिले पनि मुद्दा छँदै छ । अर्थात्, देश संवैधानिक ढंगले चलेन, लोकतान्त्रिक विधिबाट चलेन, लोकतान्त्रिक संस्थाहरू कमजोर पारिए, विघटन गरिए, समाप्त पारिए र यसमा राज्यको कुनै निकायले प्रतिवाद गरेन । अचम्म लाग्छ । न्युज एजेन्सी नेपाल






