ललितपुर, ३ मंसिर २०८३ । ललितपुरको धापाखेलस्थित जेम्स स्कुलका बस चालक लागुऔषधसहित पक्राउ परेका छन् ।लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता दुर्गाराज रेग्मीका अनुसार, जेम्स स्कुलका बस चालक काभ्रेपलाञ्चोक मण्डनदेउपुर–५ का ३० वर्षीय राज रसाइली ८८ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन् । उनीसँगै काभ्रेपलाञ्चोक नमोबुद्ध–११ का २७ वर्षीय समिर तामाङ, दोलखा शैलुङ–२ का ३० वर्षीय दिनेश वाइबा र भारत बिहारका २२ वर्षीय कमलेशकुमार शाह पनि पक्राउ परेका छन् ।
प्रहरीले उनीहरूको साथबाट ८८ ग्राम खैरो हेरोइन, २ थान डिजिटल तराजु, नगद २ लाख ८० हजार रुपैयाँ र ४ थान मोबाइल फोन बरामद गरेको छ ।
ब्युरोका अनुसार उपत्यकामा सञ्चालन गरिएको लागुऔषध अपराधविरुद्धको विशेष अपरेसनका क्रममा केही दिनअघि गोकर्णेश्वरबाट समिर र दिनेश पक्राउ परेका थिए । उनीहरूको बयानका क्रममा राज रसाइलीबाट लागुऔषध खरिद गर्ने गरेको खुलेपछि प्रहरी रसाइलीसम्म पुगेको हो ।
करिब एक वर्षदेखि जेम्स स्कुलको बस चलाउँदै आएका राज स्वयं लागुऔषध सेवनकर्तासमेत रहेको खुलेको छ । उनले लागुऔषध सेवन गरेरै स्कुले विद्यार्थी बोकेको बस चलाएको हुनसक्ने प्रहरीको अनुमान छ ।
राजलाई भारतबाट लागुऔषध ल्याएर दिने काम भारत बिहारका कमलेशकुमार शाहले गर्थे । सिराहा–काठमाडौँ चल्ने सवारीसाधनका सहचालक रहेका शाहले भारतबाट लागुऔषध भित्र्याई राजलाई बेच्ने गरेको र राजले उपत्यकाभर लागुऔषध सप्लाई गर्ने गरेको ब्युरो प्रवक्ता रेग्मीले जानकारी दिए ।अन्नपूर्णपोष्टबाट






