काठमाडौं, २ मंसिर २०८३ । रुसको दक्षिणपश्चिमी साइबेरियामा मंगलबार एक सैन्य विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १९ जनाको मृत्यु भएको छ ।
रुसी सञ्चारमाध्यम इजवेस्टियाका अनुसार विमान दुर्घटनाअघि नै आकाशमा आगलागी भएको थियो । त्यसपछि विमान जमिनमा खसेको थियो । दुर्घटनाको वास्तविक कारण खुल्न सकेको छैन ।
रुसी रक्षा मन्त्रालयले प्रारम्भिक रिपोर्टमा प्राविधिक गडबडीका कारण दुर्घटना भएको जनाएको छ । केमेरोभो क्षेत्रका गभर्नर इल्या सेरेद्यूकले यागुनोभो गाउँनजिकै विमान दुर्घटना भएको पुष्टि गरेका छन् ।
विभिन्न सञ्चारमाध्यमका रिपोर्टमा दुर्घटनाग्रस्त विमान सैन्य मालवाहक एएन–१२ भएको दाबी गरिएको छ । सोभियत संघको पालामा युक्रेनको एन्टोनोभ कम्पनीले निर्माण गरेको यो चार इन्जिनयुक्त टर्बोप्रोप विमान सन् १९५० को दशकको अन्त्यदेखि सेवामा छ ।
एएन–१२ का एक हजारभन्दा बढी विमान निर्माण गरिएका थिए । तीमध्ये केही अझै रुससहित विभिन्न देशमा सञ्चालनमा छन् । यसको प्रयोग सैनिक, हतियार, गोलाबारुद तथा अन्य सैन्य सामग्री ओसारपसार गरिन्छ । एएडटकमबाट ।






