Online Bichar
मंगलबार, मंसिर ०२, २०८३ | Tuesday, November 17, 2026

झापा, ३० कार्तिक २०८३ । देशकै खुंखार विचौलिया इनम सापकोटासंग नाम जोडिएर आत्महत्या गरेका योगेन्द्र खतिवडा ९यशु० को मोबाइल परीक्षणका लागि पठाइएको छ ।

कन्काई नगरपालिका-३ सुरुङ्गा बस्ने ४३ वर्षीय यशुले हिजो आफ्‌नै घरमा झुन्डिएर आत्महत्या गरेका थिए । सुरुङ्गास्थित कृषि थोक लाइन बस्ने यशुले आफ्‌नै साढे दुईतले घरको माथिल्लो तलाको कोठामा ढोकाको चुकुल लगाई केही नबोलिरहेको अबस्थामा आफन्त र छिमेकी मिलेर ढोका फुटाई हेर्दा सोही कोठाको भेन्टिलेसनको रडमा सलको पासो लगाई झुण्डी मृत अबस्थामा फेला परेका थिए ।

बिहान ७:३५ बजे इलाका प्रहरी कार्यालय सुरुङ्गामा जानकारी प्राप्त भएपछि प्रहरी नायव निरीक्षक विष्णुप्रसाद सापकोटाको कमाण्डमा प्रहरी टोली खटिएको थियो । थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी निरीक्षक लोकबहादुर दियालीको कमाण्डमा टोली गएको थियो । बिहान ११:३० बजे कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । पोस्टमार्टमपछि यशुको शव परिवारले बुझेका छन् । आज उनको कन्काई माईमा अन्त्येष्टि गरिएको छ ।

प्रहरीले बरामद गरेको यशुको मोबाइल परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाइएको छ । प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरेर उनको शव परिवारलाई हस्तान्तरण गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठकले बताए । उनले हिजो यशुको मोबाइल खोज्दा नभेटिएको र आज भेटिएपछि फरेन्सिक जाँचका लागि ल्यावमा पठाइएको जानकारी दिए ।

लक्ष्मीपुरमा भिजन फोटो स्टुडियो सञ्चालन गर्दै आएका यशुसँग काठमाडौंमा थुनामा रहेका इनम सापकोटाको ‘कनेक्सन’ रहेको भन्ने विवरणहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । तर, प्रहरीको अनुसन्धानबाट अहिलेसम्म त्यसबारे पुष्टि भएको छैन । मोबाइल परीक्षणका लागि प्रहरी हेडक्वार्टरको फरेन्सिक ल्याबमा पठाइएको डीएसपी पाठकले जानकारी दिए । यशुले सामाजिक सञ्जाल फेसबुकमा ‘इनम सापकोटाको नामबाट आएको म्यासेज आफ्नो परिवार र निर्दोष बुवालाई फसाउन कसैले रचेको नाटक’ भनेका छन् ।
मृत्यु रोज्नुअघि उनले सामाजिक सञ्जालमा आफ्नो गल्तीको सजाय परिवारलाई नदिन आग्रह गर्दै पोस्ट गरेको भेटिएको छ । प्रहरीले सामाजिक सञ्जालमा उनले पोस्ट गरेको विषयमा पनि अनुसन्धान गरिरहेको छ ।

दुईवटा स्टाटसमा उनले आफ्नो परिवारलाई आफूले भोगिरहेको परिस्थितिको दोष नदिन आग्रह गरेका छन् । पहिलोमा अहिलेका चर्चित बिचौलिया इनम सापकोटाको नामसमेत जोडिएको छ ।

तीन दिनअघि लेखिएको उक्त स्टाटसमा यशुले आफ्नो जीवनमा भइरहेको घटनाका लागि परिवार जिम्मेवार नभएको उल्लेख गरेका थिए । सामाजिक सञ्जालमा आफू र परिवारलाई जोडेर लगाइएका आरोप सबै सत्य नभएको दाबी गर्दै उनले इनमको मोबाइलबाट ह्वाट्सएपमा सन्देश आएको भनिएको विषयलाई अरू कसैले रचेको नाटक भनेका थिए ।

‘मेरो जीवनमा यो हुनुमा मेरो परिवारको केही दोष छैन, दोष मेरो हो,’ उनले लेखेका थिए, ‘जुन इनमको मोबाइलबाट ह्वाट्सएपमार्फत सन्देश आएको भनिएको छ, त्यो मेरो परिवार र निर्दोष बुबालाई फसाउन अरू कसैले रचेको नाटक मात्र हो ।’

यशुले आफ्नो आध्यात्मिक साधनाबारे परिवारका सदस्यलाई समेत जानकारी नभएको उल्लेख गरेका थिए । आफूले गरेका गतिविधिका कारण बुबाआमा, दाजुभाउजू र दिदीलाई दोष नदिन आग्रह गर्दै उनले गाउँ–समाज र परिवारसँग क्षमायाचना गरेका थिए ।

स्टाटसका बारेमा प्रहरीले यशुका परिवारसंग सोधपुछ गरिरहेको छ । आत्महत्या गर्नुअघि यशु डिप्रेशनमा रहेको परिवारबाट थाहा भएको छ । इनमकै कारण यशु डिप्रेशनमा गएका थिए कि अन्य कारण थियो भनेर खुल्न सकेको छैन । डिप्रेशनकै समस्याका कारण यशुले सामाजिक संजालमा जथाभावी लेखेको र इनमसंग उनको कुनै पनि सम्बन्ध नरहेको परिवारले प्रहरीसंग दावी गरेका छन् ।

तपाईको प्रतिक्रिया