झापा, १३ कार्तिक २०८३ । विदेशी नागरिकता लिएपछि नेपाली नागरिकता परित्याग गर्नेको संख्या झापामा बढ्दै गएको छ।
जिल्ला प्रशासन कार्यालयको अभिलेखअनुसार पछिल्लो साढे चार वर्षमा जिल्लाका २४६ जनाले नेपाली नागरिकता त्यागेका छन्।
कार्यालयका अनुसार २०७८ सालदेखि २०८३ कात्तिक १२ गतेसम्म नागरिकता परित्याग गर्नेमा १६२ पुरुष र ८४ महिला छन्। विदेशी मुलुकको नागरिकता लिएपछि नेपाली नागरिकता त्याग्नेको विवरण प्रशासनले राख्ने गरेको छ।
तथ्याङ्कअनुसार २०७८ सालमा तीन पुरुष र तीन महिलाले नागरिकता त्यागेका थिए। २०७९ मा यो संख्या बढेर आठ पुरुष र तीन महिला पुगेको थियो। २०८० सालमा भने ५९ पुरुष र २० महिलाले नेपाली नागरिकता परित्याग गरेका थिए।
त्यसैगरी, २०८१ सालमा ५३ पुरुष र १८ महिलाले नागरिकता त्यागेको अभिलेख छ। २०८२ सालमा नागरिकता परित्याग गर्ने महिलाको संख्या पुरुषको तुलनामा बढी देखिएको छ। उक्त वर्ष २५ पुरुष र ४५ महिलाले नेपाली नागरिकता त्यागेका थिए।
चालु आर्थिक वर्ष २०८३ को कात्तिक १२ गतेसम्म १९ पुरुष र २० महिलाले नागरिकता परित्याग गरिसकेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।
विगत वर्षको विवरण हेर्दा २०८० र २०८१ मा पुरुषले नागरिकता त्याग्ने संख्या बढी देखिन्छ भने २०८२ मा महिलाको संख्या उल्लेख्य रूपमा बढेको छ। पछिल्लो अवधिमा भने पुरुष र महिलाको संख्या लगभग बराबर छ।
विदेशमा बसोबास गर्ने नेपाली मूलका व्यक्तिले विदेशी नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता परित्याग गर्ने गरेका छन्। नेपालको संविधान तथा प्रचलित कानुनअनुसार विदेशी नागरिकता लिएका व्यक्तिले सामान्यतः नेपाली नागरिकता कायम राख्न पाउँदैनन्। गैरआवासीय नेपाली नागरिकता भने कानुनले तोकेको योग्यता पूरा गरेका व्यक्तिले प्राप्त गर्न सक्ने छुट्टै व्यवस्था हो।
यद्यपि, जिल्ला प्रशासन कार्यालयको उपलब्ध तथ्याङ्कले नागरिकता परित्याग गर्नेको संख्या देखाए पनि उनीहरूले कुन–कुन देशको नागरिकता लिएका हुन् भन्ने विवरण खुलाएको छैन।






