Online Bichar
शनिबार, कार्तिक १५, २०८३ | Saturday, October 31, 2026

काठमाडौं, १३ कार्तिक २०८३ । दुग्ध विकास संस्थान (डीडीसी) मा आर्थिक अनियमितता गरेको आरोपमा पूर्वमहाप्रबन्धक संजीव झासहित ८ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका झा हाल संस्थानकै प्रशासन तथा व्यवस्थापन विभाग प्रमुखका रूपमा कार्यरत छन् ।

पक्राउ पर्ने अन्यमा तत्कालीन सिम्ले चिस्यान केन्द्रका इन्चार्ज तथा हाल बालाजुस्थित दुग्ध वितरण आयोजनामा कार्यरत विजयकुमार यादव, तत्कालीन भक्तपुर चिस्यान केन्द्रका इन्चार्ज तथा हाल केन्द्रीय कार्यालयमा कार्यरत मनहरी शर्मा, तत्कालीन चनौली चिस्यान केन्द्रका इन्चार्ज तथा हाल दुग्ध वितरण आयोजनाको सङ्कलन केन्द्रमा कार्यरत रामकेवल राय पक्राउ छन् ।

यसैगरी बागमती धुलो दूध कारखाना हेटौंडामा कार्यरत जितेन्द्रकुमार यादव, नवलपुररगरुडा चिस्यान केन्द्रका इन्चार्ज नवीन राय यादव, माडी चिस्यान केन्द्रमा कार्यरत शिवनन्दन राय र माडी चिस्यान केन्द्रका इन्चार्ज विखबहादुर भण्डारी पनि पक्राउ परेको सीआईबीले जनाएको छ ।

सीआईबीका अनुसार संस्थानका तत्कालीन महाप्रबन्धक झासहितका उच्च तहका अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा कर्मचारीहरूको मिलेमतोमा अनियमिता भएको उजुरी परेको थियो ।

सोही उजुरीपछि संस्थानलाई आर्थिक हानि पुर्‍याएर १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ गैरकानुनी लाभ लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ ।

पक्राउ परेकाहरूमाथि प्रहरीले मुलुकी अपराध संहिता, २०७४ को आपराधिक विश्वासघातसम्बन्धी कसुर तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान अघि बढाएको जनाएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया