Online Bichar
बुधबार, मंसिर १०, २०८३ | Wednesday, November 25, 2026

काठमाडौं, १० कार्तिक २०८३ । श्रीलंकाको राजधानी कोलम्बोमा नेपाल सरकारको नाममा रहेको जग्गामा पर्खाल लगाउने क्रममा नेपाली दूतावासलाई अवरोध उत्पन्न गरिएको छ ।

नेपाल सरकारको जग्गा अवैध तरिकाले आफ्नो बनाउनेहरूले अवरोध सिर्जना गरेका हुन् । उनीहरूले अवरोध सिर्जना गरेपछि जग्गामा पर्खाल लगाउने काम रोकिएको छ ।

“नेपाली दूतावासका प्रतिनिधि पर्खाल लगाउन जग्गामा पुग्दा केही व्यक्तिहरू विवाद गर्न आए । उनीहरूले नेपाल सरकारको जग्गा आफ्नो दाबी गर्दै अवरोध सिर्जना गरेपछि हाललाई पर्खाल लगाउने कार्य रोकिएको छ,” परराष्ट्र मन्त्रालय उच्च स्रोतले भन्यो ।

स्रोतका अनुसार, दुई साताअघि उक्त घटना भएको थियो । कोलम्बोको राजगिरियामा रहेको १.५ एकड (११.९२५ रोपनी) जग्गामा पर्खाल लगाउनुअघि सरसफाइको काम गरिँदै थियो । त्यतिबेला केही व्यक्तिहरूले उक्त जग्गा आफ्नो भएको दाबी गर्दै विवाद झिकेका थिए ।

विवाद बढेपछि उनीहरू प्रहरी कार्यालयमा पुगेका थिए । त्यसपछि प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल गरेको थियो ।

“श्रीलंकन प्रहरीले हाम्रो दूतावास र उनहिरू दुवै पक्षसँग कागजात मागेको थियो । हामीले उक्त जग्गासम्बन्धी कागजात बुझाएका छौं,” परराष्ट्र मन्त्रालय उच्च स्रोतले भन्यो, “प्रहरीले दुवै पक्षलाई उक्त जग्गामा नजान र कुनै पनि प्रकारको नयाँ निर्माण कार्य नगर्नूू भनेको छ । प्रहरीले अनुसन्धान गरिरहेको छ ।”

नेपाल सरकारको नाममा कोलम्बोमा रहेको जग्गा नेपाललाई थाहै नदिई दुई पटक बिक्री भएको सम्बन्धमा बाह्रखरीले निरन्तर समाचार प्रकाशन गरेपछि यो विषय प्रतिनिधिसभामा समेत उठेको थियो । कोलम्बोमा दूतावास भवन स्थापना गर्न नेपाल सरकारले खरिद गरेको १.५ एकडमध्ये एक एकड जग्गा नेपाललाई थाहै नदिई दुई पटक बिक्री भएको पाइएको थियो ।

परराष्ट्र मन्त्रालयले प्रतिनिधिसभालाई उपलब्ध गरेको विवरण अनुसार, उक्त जग्गा पहिलो पटक एक लाख अमेरिकी डलर र दोस्रो पटक एक लाख २० हजार अमेरिकी डलरमा बिक्री भएको थियो ।

उक्त जग्गा नेपाल सरकारलाई थाहै नदिई तत्कालिन श्रीलंकाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत अल्बर्ट एडिरिसिङ्घेले बिक्री गरेका थिए । बिक्री गर्ने तत्कालीन नेपाली अवैतनिक महावाणिज्यदूत एडिरिसिङ्घेको मृत्यु भइसकेको छ ।

नेपालले नेपाली राजदूतावासको नाममा सन् १९८९ मे १८ मा १.५ एकड जग्गा खरिद गरेको थियो । खरिद गरेको पाँच वर्षभित्र उक्त जग्गामध्ये एक एकड जग्गा दुई पटक बिक्री भएको थियो, जसबारेमा नेपाल सरकार बेखबर थियो ।

खरिद गरिएको १.५ एकड जग्गा मध्ये एक एकड जग्गा पहिलो पटक सन् १९९० सेप्टेम्बर १६ मा डिड नं. १७९२ मार्फत तत्कालीन श्रीलङ्काका लागि नेपाली अवैतनिक महावाणिज्यदूत एडिरिसिङ्घेले आई।ए।भी डामियानेलाई एक लाख अमेरिकी डलरमा बिक्री गरेका थिए ।

सन् १९९४ मे ९ मा दोश्रो पटक डिड नं. २२२५ मार्फत डब्लु.डब्ल.एल. बेनाडिकलाई एक लाख २० हजार अमेरिकी डलरमा उक्त जग्गा बिक्री गरिएको थियो ।

उक्त जग्गा नेपाल सरकारले खरिद गरेको १६ महिना नबित्दै पहिलो पटक बिक्री गरिएको थियो । यसको चार वर्षपछि दोस्रो पटक बिक्री गरिएको थियो । आफ्नो जग्गा बिक्री भएको नेपाल सरकारले ३५ वर्षपछि मात्र थाहा पाएको थियो ।

जग्गा सुटुक्क बिक्री भएको थाहा पाएपछि छानबिन गर्ने प्रयोजनका लागि श्रीलंकाका लागि तत्कालीन नेपाली राजदूत डा. पूर्णबहादुर नेपालीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो ।

नेपाली २०८१ फागुनमा श्रीलंकाको लागि नेपाली राजदूत नियुक्त भएका थिए । उक्त समितिले प्रतिवेदन परराष्ट्र मन्त्रालयमा पठाएको थियो । त्यही प्रतिवेदनका आधारमा परराष्ट्रले विवरण प्रतिनिधसभालाई उपलब्ध गरेको थियो ।

प्रतिवेदनमा कोलम्बोमा नेपाल सरकारको नाममा रहेको जग्गा तत्कालीन श्रीलंकाका लागि नेपालको अवैतनिक महावाणिज्यदूत एडिरिसिङ्घेले थाहै नदिई सुटुक्क व्यक्तिलाई बिक्री गरेको उल्लेख छ ।

प्रतिवेदनअनुसार तत्कालीन अवैतनिक महावाणिज्यदूत एडिरिसिङ्घेलाई नेपाली दूतावासको जग्गा बिक्री वितरण गर्ने अख्तियारी नेपालले दिएको देखिँदैन ।

सन् २०२५ जुन ५ मा जग्गामा तारबार गर्ने क्रममा एक एकड जग्गा अन्य व्यक्तिको नाममा नामसारी भएको जानकारी कोलम्बोस्थित नेपाली दूतावासले पाएको थियो ।

बिक्री भएको जग्गाको सम्बन्धमा सन् २०२५ जुन ६ मा श्रीलंकाको परराष्ट्र मन्त्रालयलाई नेपालले जानकारी गराएको थियो । सोही दिन त्यहाँको ल्याण्ड रजिस्टार अफिसबाट आवश्यक कागजात माग गरेको थियो ।

सन् २०२५ जुन ९ मा ल्याण्ड रजिस्टार अफिसबाट ‘फर्जड डिड्स’ र ‘टाइटल एक्सट्रयाक्ट’ बारे त्यहाँको परराष्ट्र मन्त्रालय र शिष्टाचार महापाललाई जानकारी गराई संरक्षणका लागि अनुरोध गरेको थियो ।

सन् २०२५ अगष्ट १९ मा कोलम्बोस्थित नेपाली दूतावासका उपप्रमुखसहित श्रीलङ्काको अनुसन्धान अधिकृत र प्रहरीसहितको टोलीले उक्त जग्गाको भौतिक अवस्थाको निरीक्षण गरेको थियो ।

सन् २०२६ जनवरी २७ मा श्रीलंकाका सम्बन्धित अधिकारीले नेपाल सरकारको नाममा रहेको १।५ एकड जग्गामा पर्खाल लगाउन र आफ्नो स्वामित्व कायम गर्न त्यहाँ रहेको नेपाली दूतावासलाई सुझाव दिएका थिए । जग्गाको संरक्षणका लागि पर्खाल लगाउन आवश्यक पर्ने रकम दूतावासमा पठाइ सकिएको थियो ।

सन् १९५७ मा श्रीलंकासँग कूटनीतिक सम्बन्ध जोडेको नेपालले १९९५ मा राजधानी कोलम्बोमा दूतावास स्थापना गरेको थियो । कोलम्बोमा दूतावास स्थापना गर्नुअघि सन् १९७५ देखि नेपालले अवैतनिक महावाणिज्यदूत राखेको थियो ।

तत्कालीन श्री ५ को सरकारले कोलम्बोमा दूतावास स्थापना गर्ने योजना बनाएपछि जग्गा खरिद गर्ने निर्णय भएको थियो । त्यतिबेला श्रीलंकाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत एडिरिसिङ्घे थिए । उनी श्रीलंकका चर्चित व्यवसायी थिए ।

अवैतनिक वाणिज्यदूत एडिरिसिङ्घेको पहलमा श्रीलंकाको राजधानी कोलम्बोको राजगिरियामा १.५ एकड (११.९२५ रोपनी) जग्गा नेपाल सरकारले खरिद गरेको थियो । जग्गा दूतावास भवन र राजदूतको आवास भवन निर्माण गर्न खरिद गरिएको थियो । जग्गा कोलम्बोको नरहेनपिता, मोडेल फार्म रोड, नम्बर २२३ स्थित खरिद गरिएको थियो ।

नेपालले खरिद गरेको जग्गाको पूर्वतर्फ ४० फिटको चौडा सडक, उत्तरतर्फ योजना नम्बर ६१८२ को लट नम्बर १ र २, दक्षिणतर्फ योजना नम्बर १ र २ को सन्तुलित क्षेत्र र पश्चिमतर्फ नाली छ ।

नेपालले त्यतिबेला जग्गा खरिद गर्ने भएपछि श्रीलंका सरकारले कर छुट दिएको थियो । सन् १९८९ जनवरी १९ का दिन प्रकाशित श्रीलंकाको राजपत्र नं।५४१र१२ मा नेपाललाई कर छुट दिएको कुरा उल्लेख छ ।

उक्त डेढ एकड जम्मा नेपालले त्यतिबेला ३ लाख ६० हजार अमेरिकी डलरमा खरिद गरेको थियो । नेपालले उक्त जग्गा श्रीलंका भूमि सुधार तथा विकास निगम (श्रीलंका ल्याण्ड रिक्ल्यामेसन एण्ड डभलपमेन्ट कर्पोरेसन) बाट खरिद गरेको थियो ।

परराष्ट्र मन्त्रालयका अनुसार, ३७ वर्षअघि कोलम्बोमा खरिद गरिएको १.५ एकड जग्गाको मूल्य हाल ६५ लाख अमेरिकी डलर (करिब १ अर्ब रुपैयाँ) पर्ने जनाएको छ ।बाह्रखरीबाट

तपाईको प्रतिक्रिया