नाइरोबी, २० असोज २०८३ । केन्यामा पहिलो पटक इबोला भाइरसको सङ्क्रमण पुष्टि भएको छ । विगत सात वर्षदेखि प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) मा बस्दै आएका एक केन्याली नागरिकमा उक्त सङ्क्रमण फेला परेको हो ।
स्वास्थ्यमन्त्री एडेन दुआलेका अनुसार एक महिनाअघि बिरामी परेका ती व्यक्तिको डीआर कङ्गोका विभिन्न अस्पतालहरूमा उपचार गराइएको थियो । उपचारपछि नाइरोबी आइपुगेका उनको केही दिनमै मृत्यु भएको हो ।
मन्त्री दुआलेले ती बिरामी गत शनिबार विमानमार्फत नाइरोबी आइपुगेको जानकारी दिए । नाइरोबीको मुख्य विमानस्थलमा सामान्य स्वास्थ्य परीक्षण गराएर निस्किएका उनलाई आफन्तले नगरको एक अस्पतालमा भर्ना गरेका थिए ।
अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा उनमा ‘इबोला बुन्दिबुग्यो’ भाइरसको सङ्क्रमण पुष्टि भएको हो । यस वर्ष डीआर कङ्गोमा इबोलाका कारण ४ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । यो इबोला महामारीको इतिहासमा अहिलेसम्मकै दोस्रो घातक अवस्था हो ।






