Online Bichar
शुक्रबार, आश्विन १६, २०८३ | Friday, October 2, 2026

काठमाडौं, १५ असोज २०८३ । दुबईबाट इजरायलको तेल अभिभतर्फ जाँदै गरेको फ्लाई दुबईको विमान अपहरण गरी दुर्घटना गराउने प्रयास भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । उडानका क्रममा को–पाइलटले क्याप्टेनमाथि चक्कु प्रहार गर्दै विमानको नियन्त्रण लिन खोजेका थिए । विमान तीव्र गतिमा तल झर्न थालेपछि सजग भएका यात्रुहरूले ककपिटभित्रै पसेर आक्रमणकारी को–पाइलटलाई नियन्त्रणमा लिएका हुन् ।

‘टाइम्स अफ इजरायल’का अनुसार, यो घटना बुधबार बिहान करिब ९ बजे भएको हो । विमान केही समयमै करिब १७ हजार फिट तल झरेपछि अपहरणको चेतावनी संकेत पठाइएको थियो ।

विमानले सुरुमा ‘७७००’ आपत्कालीन कोड र त्यसको केही सेकेन्डपछि ‘७५००’ अपहरण संकेत पठाएको थियो । ‘फ्लाइटरडार’का अनुसार, विमान करिब दुई मिनेटमा ३४ हजार फिटबाट १६ हजार ६०० फिटको उचाइमा झरेको थियो ।

घटनालगतै इजरायलले लडाकु विमान परिचालन गरेको थियो । ती लडाकु विमानको निगरानीमा फ्लाई दुबईको उक्त उडानलाई साउदी अरेबियाको ताबुक विमानस्थलतर्फ मोडेर आपत्कालीन अवतरण गराइयो । विमानमा करिब १८० यात्रु सवार थिए, जसमध्ये १५० जना इजरायली नागरिक रहेको बताइएको छ ।

ककपिटमा झगडा र यात्रुद्वारा आक्रमणकारी नियन्त्रणमा
प्रारम्भिक विवरणअनुसार क्याप्टेन र को–पाइलटबीच ककपिटमा झगडा भएपछि आपत्कालीन संकेत पठाइएको थियो । इजरायली सञ्चारमाध्यमका अनुसार, को–पाइलटले विमानलाई जमिनतर्फ मोडेर दुर्घटना गराउने प्रयास गरेका थिए ।
विमान अनियन्त्रित भई तीव्र गतिमा तल झर्न थालेपछि केही यात्रु ककपिटतर्फ दौडिएका थिए । उनीहरूले आक्रमणकारी पाइलटलाई नियन्त्रणमा लिएर ककपिटबाट बाहिर निकाले । घटनामा क्याप्टेन र को–पाइलट दुवै घाइते भएका छन् । उनीहरूलाई साउदीको ताबुकस्थित अस्पतालमा भर्ना गरिएको छ ।

घटनाका प्रत्यक्षदर्शी यात्रु तिजका मानेसका अनुसार, उनीसहित तीनजना इजरायली यात्रु ककपिटमा पुगेका थिए । आक्रमणकारीलाई पूर्ण रूपमा नियन्त्रणमा लिन करिब २० देखि २५ मिनेट लागेको र उनीहरूले तारयुक्त हेडफोन प्रयोग गरी उनलाई बाँधेका थिए ।

विमानमा साधारण पोसाकमा अन्य दुई पाइलट पनि सवार थिए । तीमध्ये एकले विमानको नियन्त्रण सम्हाल्न सहयोग गरेको यात्रुहरूले बताएका छन् ।

अर्की यात्रु मिरियमले ककपिटबाट चिच्याएको आवाज सुनेको र ढोका खुल्दा घाइते पाइलटलाई देखेको बताइन् । उनका अनुसार, पाइलटको हातमा फोल्डिङ चक्कु थियो र ककपिटभरि रगत लतपतिएको देखिन्थ्यो । चक्कु प्रहारबाट घाइते भएका क्याप्टेनलाई विमानमै रहेका एक इजरायली दन्तचिकित्सकले प्राथमिक उपचार गरी ज्यान बचाउन सहयोग गरेका थिए ।

नेतान्याहूद्वारा पाइलटको नाम सार्वजनिक
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले चक्कु प्रहारबाट घाइते भएका भारतीय नागरिक क्याप्टेन स्मित मछारको नाम सार्वजनिक गरेका छन् । उनले सम्भावित ठूलो विमान दुर्घटना रोक्न क्याप्टेनले ‘असाधारण वीरता’ प्रदर्शन गरेको बताएका छन् ।

नेतान्याहूले सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै क्याप्टेन मछारले आक्रमणको प्रतिकार गर्दै विमानलाई नियन्त्रणमा राख्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

घटनापछि विमानमा सवार यात्रुहरू इजरायल पुगिसकेका छन् । रगतले लतपतिएको टी–सर्ट लगाएका एक यात्रुले प्रधानमन्त्री नेतान्याहूसँगको भेटमा आफूले ककपिटमा भएको आक्रमण रोक्न कसरी सहयोग गरे भन्नेबारे बेलिबिस्तार लगाएका थिए ।

ती यात्रुका अनुसार, आक्रमणकारी दुवै पाइलटको बीचमा बसेर विमानको नियन्त्रण सम्हालिरहेका थिए । उनले आक्रमणकारीलाई नियन्त्रण कक्षबाट टाढा तानेपछि अन्य यात्रुको सहयोगमा काबुमा लिइएको थियो ।

विमान एकतर्फ ढल्किएपछि आफू पुनः ककपिटमा पुगेर नियन्त्रण सम्हाल्न र विमानलाई माथि उठाउन सहयोग गरेको ती यात्रुले बताए । विमान दुर्घटनासम्बन्धी टेलिभिजन कार्यक्रम ‘मेडे’ हेर्ने भएकाले आपत्कालीन अवस्थामा के गर्नुपर्छ भन्ने केही जानकारी आफूलाई रहेको उनको भनाइ थियो । केही समयपछि अर्का पाइलटले ककपिटको नियन्त्रण पूर्ण रूपमा सम्हालेका थिए ।

को–पाइलट ओमानी नागरिक भएको दाबी
दुई इजरायली अधिकारीका अनुसार, घटनामा संलग्न को–पाइलट ओमानका नागरिक थिए । उनलाई इजरायल जाने उडानमा क्रु सदस्यका रूपमा कसरी नियुक्त गरियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । ओमान र इजरायलबीच औपचारिक कूटनीतिक सम्बन्ध नभएकाले ओमानी नागरिक उडान टोलीमा पर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

घटनालगतै इजरायलले सुरक्षा सतर्कता बढाउँदै लडाकु विमान परिचालन गरेको थियो । प्रधानमन्त्री नेतान्याहूले सुरक्षा अधिकारीहरूसँग आपत्कालीन बैठक समेत गरेका थिए । इजरायलले केही समयका लागि आफ्नो हवाई क्षेत्रसमेत बन्द गरेको विवरण सार्वजनिक भएको छ ।

तपाईको प्रतिक्रिया