Online Bichar
बिहिबार, आश्विन ०८, २०८३ | Thursday, September 24, 2026

काठमाडौं, ८ असोज २०८३ । यस वर्षको शक्तिशाली ‘सुपर एल निनो’का कारण सिर्जित अत्यधिक गर्मीले आउँदो वर्षको सुरुसम्ममा विश्वभर चार लाख ५१ हजारसम्म थप मानिसको मृत्यु हुन सक्ने नयाँ अनुसन्धान प्रतिवेदनमा जनाइएको छ । विश्वव्यापी अनुसन्धान सञ्जाल क्लाइमेट इम्प्याक्ट ल्याबले बुधबार सार्वजनिक गरेको ‘४५१,००० एट रिस्क स् ह्वेयर एक्सन क्यान सेभ लाइभ्स ड्युरिङ द सुपर एल निनो’ शीर्षकको प्रतिवेदनमा यस्तो प्रक्षेपण गरिएको हो ।

यस वर्ष जुनदेखि सन् २०२७ को फेब्रुअरी अन्त्यसम्म सामान्य वर्षको तुलनामा अत्यधिक गर्मीका कारण चार लाख ५१ हजारसम्म थप मृत्यु हुनसक्छ । विश्वका २४ हजार ३७८ क्षेत्रमा तापक्रम र अतिरिक्त मृत्युदरबीचको सम्बन्ध विश्लेषण गरी सन् १९९६ देखि २०२५ सम्मको औसत तापक्रमसँग अध्ययनमा तुलना गरिएको हो ।

एल निनोका कारण सामान्य वर्षको तुलनामा अत्यधिक गर्मी हुने दिनको संख्या ४४ प्रतिशतसम्म बढ्न सक्छ । अध्ययनको विधि पियर–रिभ्युड जर्नलमा प्रकाशन हुने अनुसन्धानकर्ताले जनाएका छन् ।

क्लाइमेट इम्प्याक्ट ल्याबले अबका महिनामा अत्यधिक गर्मीबाट हुने मृत्यु रोक्न जोखिममा रहेका क्षेत्रमा आपत्कालीन तयारी बढाउन सुझाव दिएको छ । यसमा गर्मीसम्बन्धी चेतावनी जारी, स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी बढाउने, शीतल केन्द्र स्थापना र खुला ठाउँमा काम गर्ने श्रमिकका निम्ति सुरक्षात्मक उपाय अपनाउनेलगायत छन् ।

“यो प्रतिवेदनले नीति–निर्मातालाई आगामी महिनाहरूमा दशौँ हजार मानिसको ज्यान बचाउन अहिले नै कहाँ आपत्कालीन कदम चाल्न सकिन्छ भन्ने स्पष्टसँग देखाइदिन्छ,” युनिभर्सिटी अफ सिकागोका अर्थशास्त्री तथा क्लाइमेट इम्प्याक्ट ल्याबका सहसंस्थापक माइकल ग्रिनस्टोनले भनेका छन् ।

के हो सुपर एल निनो ?
मध्य तथा पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरको सतहको तापक्रम औसतभन्दा कम्तीमा ०।५ डिग्री सेल्सियस बढ्ने अवस्थालाई एल निनो भनिन्छ । यो प्राकृतिक जलवायु चक्रको एक हिस्सा हो । त्यहाँ तातो चरण एल निनो हुन्छ । चिसो चरणलाई ला निना भनिन्छ ।

महासागरको सतहको तापक्रम केही महिनासम्म २ डिग्री सेल्सियस वा त्यसभन्दा बढी पुगेमा वैज्ञानिकले त्यसलाई सुपर एल निनो भन्ने गर्छन् । वर्तमान एल निनोको अवस्थामा त्यहाँको तापक्रम अघिल्लो महिना २।७ डिग्री सेल्सियस पुगेको थियो । नोभेम्बर–डिसेम्बरमा ४ डिग्री सेल्सियससम्म पुग्न सक्ने पूर्वानुमान छ ।

यस वर्ष इन्डोनेसियाबाट चलेको शक्तिशाली हावाले ठूलो मात्रामा तातो पानी पूर्वी प्रशान्ततर्फ धकेलेपछि एल निनो तीव्र बनेको युनिभर्सिटी अफ रिडिङका वरिष्ठ अनुसन्धान वैज्ञानिक अक्षय देओरासले बताएका छन् ।

“यस वर्ष हामीले वसन्त ऋतुमा इन्डोनेसियाबाट चलेको यस्तै शक्तिशाली हावा देखेका छौँ, जसले ठूलो मात्रामा तातो पानी बगाउन मद्दत गर्‍यो र त्यसैले अहिले हामीकहाँ सुपर एल निनोको अवस्था छ,” उनले भनेका छन् ।

कहाँ बढी असर पर्न सक्छ ?
एल निनोले विश्वका विभिन्न क्षेत्रमा वर्षाको ढाँचा परिवर्तन गर्न सक्छ । मध्य तथा उत्तरी दक्षिण अमेरिका, पश्चिमी प्रशान्त क्षेत्र र भारतीय ग्रीष्मकालीन मनसुनबाट प्रभावित क्षेत्रमा वर्षा घट्न सक्ने तथा दक्षिण अफ्रिकासहित केही क्षेत्रमा खडेरीको जोखिम बढ्न सक्छ ।

अत्यधिक गर्मीका कारण अतिरिक्त मृत्युको संख्या नाइजेरियामा ३१ हजार ४००, इन्डोनेसियामा १९ हजार ३०० र सुडानमा १७ हजार ६०० पुग्न सक्छ । नाइजर, चाड, नाइजेरिया र सुडानसहित साहेल क्षेत्रमा मात्र थप ६६ हजार ८०० मृत्यु हुन सक्ने अनुमान छ । फिलिपिन्स, भियतनाम, थाइल्यान्ड र कम्बोडियामा गरी थप १९ हजार ४०० जनाको मृत्युको प्रक्षेपण गरिएको क्लाइमेट इम्प्याक्ट ल्याबले जनाएको छ ।

जलवायु परिवर्तनले एल निनोका प्रभावलाई थप तीव्र बनाउन सक्ने इम्पेरियल कलेज लन्डनकी जलवायु विज्ञानकी प्राध्यापक फ्रिडरिक ओटोले बताएकी छन् । “एल निनोले आगामी महिनामा विश्वव्यापी तापक्रम बढाउने र चरम मौसमी प्रभाव ल्याउने सम्भावना छ । जलवायु परिवर्तनले यी प्रभावलाई अझ बढावा दिनेछ, किनभने जीवाश्म इन्धनको उत्सर्जनबाट उत्पन्न हुने तापले विश्वव्यापी तापक्रमलाई निरन्तर माथि धकेलिरहेको छ,” उनले भनेकी छन् ।

एल निनो आउँदो वर्षसम्मै लम्बिएमा अतिरिक्त मृत्युको संख्या अझ बढ्न सक्ने र उत्तरी गोलार्धका भारत तथा पाकिस्तानजस्ता देशहरू ग्रीष्मकालीन महिनामा थप जोखिममा पर्न सक्ने प्रतिवेदनमा जनाएको छ । अलजजिराबाट

तपाईको प्रतिक्रिया